close

जगन्नाथ गाउँपालिका बन्यो पूर्ण खोपयुक्त पालिका 

जगन्नाथ गाउँपालिका बन्यो पूर्ण खोपयुक्त पालिका 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । जगन्नाथ गाउँपालिकालाई जिल्लाको पाँचौँ खोपयुक्त तथा सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

 

बाजुरालाई नै पूर्ण खोपयुक्त तथा सुनिश्चितता घोषणा गर्ने गरी तयारी भइरहेका बेला जगन्नाथलाई खोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गाउँपालिकामा रहेका जन्मदेखि १५ महिनामुनिका बालबालिकाले नियमित सबै प्रकारका खोप पाइसकेकाले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको गाउँपालिका प्रवक्ता डबल विकले जानकारी दिए । 

 

गाउँपालिकाभरिका सम्पूर्ण बालबालिका खोपको पहुँचमा पुगिसकेकाले पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्न सम्भव भएको प्रवक्ता विकले बताए ।
 
गाउँपालिकाभित्रका करिब ६ सय ७९ बालबालिकाले सबै प्रकारका खोप पाइसकेको प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले बताए । जन्मदेखि १५ महिनामुनिका ५ सय ५७ जना र १६ देखि २३ महिनासम्मका १ सय २२ जना वालबालिकाले सबै खोप पाइसकेको उनले जानकारी दिए ।

 

बाजुरामा पूर्ण खोपयुक्त गाउँपालिका घोषणाको लहर चलिरहेका बेला जगन्नाथ गाउँपालिकाले पनि समयमै पूर्ण खोपयुक्त पालिका घोषणा भएको जनाएको छ । 

 

कार्यक्रममा स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले खोपका विषयमा जानकारी दिएका थिए । खोप कार्यक्रम लागू भएयता नेपालको जनसंख्या वृद्धिदर घटेको र बालबालिका पनि अपांग हुनबाट जोगिएकोउनको भनाइ छ ।


यसले बालबालिकामा हुने सरुवा रोग र मृत्युदर नियन्त्रणमा पनि सघाउ पुग्ने विश्वास उनको छ । गाउँपालिका उपाध्यक्ष ऐना गिरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्त, जुड्डी प्रहरी चौकी प्रमुख वीरसिंह ठगुन्ना, जगन्नाथ अस्पताल प्रमुख डा. जस्मिता बलमपाकी र ६ वटै वडाका वडाध्यक्ष सहभागी थिए ।

 

जिल्लामा यसअघि गौमूल गाउँपालिका, बूढीगंगा नगरपालिका, हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भइसकेका छन् भने खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र बूढीनन्दा नगरपालिका पूर्ण खोपयुक्त पालिका घोषणाको तयारीमा जुटेका छन् ।