close

डाक्टरसहित घरदैलो चहार्दै लालबन्दी सरकार

डाक्टरसहित घरदैलो चहार्दै लालबन्दी सरकार

Trulli
ADVERTISEMENT

सर्लाही- सर्लाहीको लालबन्दीमा भाइरल ज्वरो, रुघाखोकीका बिरामी ह्वारह्वार्ती बढेपछि स्थानीय सरकारका प्रतिनिधि स्वास्थ्यकर्मी लिएरै जनताको घरदैलोमा पुगेका छन् । 

 

कोरोना संक्रमणको दोस्रो लहरसँगै फैलिएको भाइरल फिबरले गाउँ नै आक्रान्त बनेपछि स्वास्थ्य परामर्श र चेकजाँचका लागि नागरिकको घरदैलोमा पुगेको लालबन्दी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मोहन भण्डारीले बताए ।

 

स्वास्थ्यकर्मीको टोलीसहित नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरण गर्ने र नागरिकलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न सचेत गराउने गरिएको उनले जानकारी दिए । मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गरिरहेको उनको भनाइ छ ।

 

उक्त वडामा पछिल्लो केही दिनयता मात्रै ५ जनाको ज्यान गएको वडाध्यक्ष भण्डारीले बताए । ‘कोरोना परीक्षण नगरिएका तिनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण गाउँमा कोरोना फैलिएको आशंकामा स्थानीय त्रसित छन्,’ वडाध्यक्ष भण्डारीले भने, ‘आत्तिने, डराउने गरेका उनीहरूलाई स्वास्थ्य परामर्शको माध्यमबाट नआत्तिन तर सचेत हुन आग्रह गर्दै घर चहारिरहेका छौँ ।’

 

वडाध्यक्ष भण्डारीका अनुसार अबको तीन दिन जनताको घरदैलोमै स्वास्थ्यकर्मीको टोली रहनेछ । 

 

वडा कार्यालयको आयोजनामा सुरु भएको अभियानअन्तर्गत स्वास्थ्यकर्मीको टोली मंगलबार पहिलो दिन १ सय ५० जनाको घर पुगेको छ । त्यसमध्ये २६ जना उच्च ज्वरोका कारण टाइफाइड भएर औषधी सेवन गरिरहेका बिरामी फेला परेका छन् ।

 

स्थानीयलाई थप समस्या भए तत्काल चिकित्सकसँग सरसल्लाह गर्न वा नगरले तयार गरेको आइसोलेसन वार्डमा भर्ना हुन स्वास्थ्यकर्मीको टोलीले सल्लाह दिएको स्थानीय रवि माझीले बताए । आफ्नो घरदैलोमा स्वास्थ्यकर्मीको टोली देख्दा आडभरोसा बढेको एक बिरामीको भनाइ छ ।

 

पछिल्लो समय उच्च ज्वरोका बिरामी बढ्दै गएका कारण नजिकैको लालबन्दी बजार क्षेत्रमा रहेका अस्पतालमा समेत पालो पाउन मुस्किल भइरहेको छ । यस्तो अवस्थामा घरदैलोमै जनप्रतिनिधि र डाक्टर देख्दा स्थानीय खुसी छन् ।