close

कोरोना नियन्त्रण गर्न दमक र टिकापुर यसो गर्दैछन् (भिडियो खबर)

कोरोना नियन्त्रण गर्न दमक र टिकापुर यसो गर्दैछन् (भिडियो खबर)

ADVERTISEMENT

काठमाडौं- नेपालमा कोरोनाभाइरस संक्रमणका कारण दिनहुँ बिरामीहरूको ज्यान जान थालेपछि सरकारी पक्ष, स्वास्थ्यकर्मी र सर्वसाधारण सबैमा चिन्ता बढेको छ । यही बेला कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म चालेका कदम र तिनको प्रभावकारिताबारे पनि प्रश्न उठ्न थालेको छ । 


स्थानीय सरकारले गरेका कामको पनि लेखाजोखा हुन थालेको छ । संक्रमण बढेसँगै अहिले प्रदेशगत रूपमा महामारी नियन्त्रणको समीक्षा भइरहेको छ । जसमा स्थानीय सरकार अब्बल सावित भइरहेका छन् । कोही जनस्तरबाट सहयोग जुटाउँदै छन् भने कोही आफै कोभिड अस्पताल व्यवस्थापनमा लागेका छन् ।


झापाको दमक नगरपालिका पनि कोरोना नियन्त्रणका लागि नगरपालिकाले सम्भव भएसम्मको प्रयास गरिरहेको जनाएको छ । दमक नगरपालिकाकाले कोभिड अस्पताल नगरपालिकाले नै व्यवस्थापन गरेको छ । कोरोना महामारीको समयमा संघीय तथा प्रदेश सरकारले स्थानीय तहलाई कम्तिमा पनि २० शय्याको आइसोलेसन संचालन गर्न निर्देशन दिएको थियो । 


नगरपालिकाले भने २०७७ सालमा नै ३० बेडको कोभिड अस्पताल नै सञ्चालनमा ल्याइसकेको थियो । अहिले त्यसले निकै ठूलो सहयोग पुगेको छ । स्थानीय तहले कोभिडको समयमा स्थानीय जनतालाई कोरोनाबारे सचेतना प्रदान गर्न अधिक समय खर्चिएको छ ।


नगरपालिकाको जनस्वास्थ्य शाखाले कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेकाहरुलाई  फोन मार्फत दैनिक रिपोर्ट गर्ने र थप उपचारमा जानुपर्ने अवस्था छ वा छैन जानकारी दिइ स्वास्थ्य परामर्श तथा निगरानी गरिरहेको छ । 


स्थानीय तहभित्रै रहेका ठूला अस्पतालहरु प्रदेश तथा संघीय सरकारको मातहतमा रहने भएपनि प्रदेश सरकारले आफ्नो मातहतमा रहेका अस्पतालहरुलाई स्तरिय बनाउन नसकेको नगर प्रमुखको भनाइ छ । झापाको मेचीनगर अस्पताल प्रदेश मातहतमा रहेपनि प्रदेश सरकारले अस्पतालको स्तर वृद्धि गर्न तथा जनशक्ती परिचालन गर्न स्थानीय पालिकाको काम जस्तो गरि पञ्छाउने गरेको नगरप्रमुख ओलीकोे गुनासो छ । 


यता, कैलालीको टीकापुरस्थित टीकापुर अस्पतालमा रहेको उच्च उपकार कक्ष (एचडीयू) मा हाल १२, अब्जरभेसन वार्डमा ११ र कोभिड जनरल वार्डमा ९ जनाको उपचार भैरहेको जनाइएको छ । 


टीकापुर नगरपालिकाका अनुसार कोभिडको संक्रमण थप फैलन नदिन स्वाब संकलन, सिटी हलमा आइसोलेसन स्थापना, शव व्यवस्थापनका लागि पिपिइ सामाग्री वितरण र शव वाहनको व्यवस्था गरिएको छ । अहिले अक्सिजन अभावका कारण संक्रमितले मृत्युवरण गरिरहेकोले जनस्तरबाटै सहयोग रकम संकलन भएको र सोही रकमबाट अक्सिजन कन्सन्ट्रेटर खरिद गरिरहेको बताए । 


अहिले पनि भारतबाट धमाधम सुदूरपश्चिमका नागरिकहरु प्रवेश गरिरहेका छन् । यसले गर्दा समुदायमै संक्रमण फैलिइसकेको छ । तर, स्थानीय सरकारले महामारी नियन्त्रणमा गरिरहेको जमर्को सरकारको सीसीएमसीले गरिरहेको भन्दा उत्कृष्ट छ । खर्च कटाउने देखि नागरिकस्तरबाटै सहयोग लिएर महामारी रोकथाममा स्थानीय सरकार अग्रणी भूमिकामा छन् । 


त्यसैले त अहिले नागरिक संघीयता नभएको भए, स्थानीय सरकार नभएको भए महामारी नियन्त्रण हुन सक्ने अवस्था नदेखिने बताउन थालेका छन् ।