close

गाउँ-गाउँ पुगेर कोरोना परीक्षण गर्दै गल्याङ

गाउँ-गाउँ पुगेर कोरोना परीक्षण गर्दै गल्याङ

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ गिनचौरमा कोरोना भाइरस परिक्षण गर्ने क्रममा ६१ जनामा १ जना मात्रै पोजेटिभ देखिए ।

 

उक्त क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको संख्या बढेपछि गल्याङ नगरपालिकाले परीक्षण गरेको थियो ।

 

अहिलेसम्म गल्याङ नगर अस्पतालमा मात्रै एन्टिजेन परीक्षण गरिएकामा गिनचौरमा रहेको सहरी स्वास्थ्य इकाइमा पनि सुरु गरिएको हो ।


सोही क्रममा ६१ जनाको एन्टिजेन परीक्षण गरिएको र १ जनामा नतिजा पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिए । 


उक्त स्थानमा साविकको तुलसीभन्ज्याङ गाविस वडा नम्बर ३, ५ र ७ का नागरिक परीक्षणमा सहभागी भएका थिए । उक्त क्षेत्रमा बिरामीको संख्या बढेको भन्दै स्थानीयले पनि परीक्षणको माग गरेका थिए ।
 
आवश्यकताका आधारमा अन्य गाउँमा पनि पुगेर परीक्षण गरिने गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले बताए । उनले भने, ‘रोगको पहिचान गरी थप महामारी फैलिन नदिन नगरपालिकाले गाउँमै पुगेर परीक्षण गर्न लागेको हो ।’

 

कतिपय बिरामी अस्पतालसम्म आई परीक्षण गर्न अप्ठेरो मानिरहेको अवस्थामा गाउँमै पुगेर परीक्षण गर्न लागिएको अधिकारीको भनाइ छ । 

 

एन्टिजेन परीक्षण भई १४ दिन पुगेका र रिजल्ट पोजेटिभ आएकालाई शनिबार पिसिआर परीक्षण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले महामारीलाई कम गर्न नगरले सक्रियताका साथ काम गरिरहेको बताए । 


परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई औषधोपचारको व्यवस्था र गम्भीर बिरामीका लागि अस्पताल ल्याउने व्यवस्था मिलाइएको शर्माले जानकारी दिए ।


गल्याङ नगरपालिकाको बजार क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमणमा कमी भए पनि केही ग्रामीण भेगमा संक्रमण फैलिएको भन्दै नगरले गाउँमै पुगेर परीक्षण गर्न लागेको हो ।