close

सिस्नेलाई नगरपालिका बनाउने प्रस्ताव गाउँसभामा लगिँदै

सिस्नेलाई नगरपालिका बनाउने प्रस्ताव गाउँसभामा लगिँदै

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गाउँसभामा पेस हुने भएको छ । गाउँपालिकामा मंगलबार बसेको ६३औँ कार्यपालिका बैठकमा सिस्नेलाई नगरपालिका बनाउने प्रस्ताव गाउँसभामा लैजाने निर्णय भएको हो । 

 

सिस्ने गाउँपालिकामा अहिले ८ वटा वडा छन् । त्यसमा सिस्नेको १ र २ नम्बर वडालाई टुक्र्याएर ४ वटा वडा बनाई जम्मा १० वटा वडासहितको सिस्नेलाई नगरपालिका बनाउने योजना अघि सार्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिए । 

 

प्रवक्ता केसीका अनुसार कार्यपालिका बैठकमा स्थानीय सरकार स्थापनादेखि हालसम्म भएका कामका साथै कोभिड नियन्त्रणमा गाउँपालिकाको भूमिकाबारे समीक्षा गरियो ।

 

यस्तै, आगामी आर्थिक वर्षका लागि वडामा दिइएको बजेट सिलिङ, नीति तथा कार्यक्रमबारे र विपद् व्यवस्थापनसम्बन्धी विषयमा पनि छलफल भएको छ । 
गाउँपालिकाले ९ असार नयाँ आर्थिक वर्षको योजना तथा बजेटबारे टुंगो लगाउने गरी मंगलबारको बैठक स्थगित भएको प्रवक्ता केसीले बताए ।

 

हाल रुकुम पूर्वमा पुथाउत्तरगंगा, भूमे र सिस्ने गरी ३ गाउँपालिका मात्र छन् । यस्तै, पुथाउत्तरगंगा र भूमे गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छन् भने सिस्नेले १० असारमा नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गर्ने बताएको छ ।