close

गाईभैंसीपालक किसानलाई घोराहीले दियो सित्तैमा घाँस 

गाईभैंसीपालक किसानलाई घोराहीले दियो सित्तैमा घाँस 

Trulli
ADVERTISEMENT

दाङ– दाङको घोराही उपमहानगर वडा नम्बर ६ का किसान तिलक शर्माले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । उनको गोठमा चार वटा दुहुना गाई र दुई भैंसी छन् । तर, गाईभैंसीलाई खुवाउने घाँस अभावका कारण वन चहार्नुपर्छ ।

 

घोराही उपमहानगरको कृषि शाखाले निःशुल्क घाँसको बिउ वितरण गर्न लागेको उनलाई छिमेकीले सुनाए । त्यसपछि माग फाराम भरे । उपमहानगरले मागेजति दिएपछि जै घाँसको बिउ लगेर खेतमा छरेको उनले बताए । ‘गाईभैंसीलाई घाँस खुवाउन समस्या हुन्थ्यो । यसपालि कृषि शाखाले दिएको बिउले खेतबारी हरियो भएको छ’, उनले भने । 


घोराही वडा नम्बर ९ का रुपलाल चौधरीले व्यावसायिक रूपमा भैंसीपालन गरेका छन् । उनको फार्ममा अहिले ५ वटा दुहुना भंैसी छन् । उनले कृषि शाखाबाट बरसिम घाँसको बिउ लगेर छरेका छन् । 

 

५ किलो बरसिम घाँसको बिउ लगेर खेतमा छरेको उनले सुनाए । दाङका व्यावसायिक किसानलाई कृषि शाखाले निःशुल्क घाँसको बिउ वितरण गरेपछि लाभ मिलेको उनीहरू बताउँछन् ।


घोराही उपमहानगरले पशुपालक किसानलाई मागका आधारमा बर्सिम घाँस २ सय २४ जनालाई र जै घाँस २ सय ८६ जनालाई वितरण गरेको छ । बर्सिम घाँस १ हजार ८ सय १५ किलो र जै घाँस २ हजार ७ सय ५९ किलो वितरण गरिएको घोराही उपमहानगर पशु शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिए ।

 

उपमहानगरका किसान पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन् । किसानको मागका आधारमा घाँसको बिउ, भकारो सुधार, उन्नत जातका बोयर बोका, दूध बजारीकरणलाई सहज बनाउन क्यान वितरण गर्दै आएको पशु शाखाले बताएको छ ।