close

घरदैलो नर्सिङ सेवा सुरु गर्दै भक्तपुर 

घरदैलो नर्सिङ सेवा सुरु गर्दै भक्तपुर 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले समुदाय स्तरीय घरदैलो नर्सिङ सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य महाशाखाको आयोजना र भक्तपुर नगरपालिकाको सहकार्यमा यो सेवा सुरु हुन लागेको हो । 

 

कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा साताव्यापी अभिमुखीकरण सञ्चालन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले कार्यक्रम उद्घाटन गरे । 


अभिमुखीकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा प्रजनन् स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन एवं सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि समुदाय स्तरमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवासम्बन्धी जानकारी दिइने आयोजकले बताएका छन् । 


स्वास्थ्य विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक प्रा. गोमादेवी निरौलाले सात दिने तालिममा पहिलो दिन नगरपालिकाभित्रका जनप्रतिनिधि र बाँकी ६ दिन स्वयंसेविका तथा नर्सलाई अभिमुखीकरण दिइने बताइन् ।


तालिम सम्पन्न भएपछि केही दिनमा घरदैलो नर्सिङ सेवा सञ्चालन गरिने उनको भनाइ छ । कार्यक्रममा सांसद सुवालले घरदैलो नर्सिङ सेवाबाट नागरिक लाभान्वित हुने र नर्सले घरघरमा गई आवश्यक स्वास्थ्य परामर्श दिने बताए ।


स्वास्थ्य बिमा कार्यक्रममा समावेश भएका अधिकांश दीर्घरोगी भएका कारण तिनको उपचारका लागि आवश्यक थप औषधी स्वास्थ्य बिमामा समावेश गर्नुपर्ने उनको धारणा छ । 

 

भक्तपुरका नगरप्रमुख सुनील प्रजापतिले नेपालमै पहिलो पटक नगरपालिकाबाट घरदैलो नर्सिङ सेवा सुरु गरिएको र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाको प्राविधिक सहयोग प्राप्त भएपछि सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।


यो योजना देशकै निम्ति नमुना भएको उनको दाबी छ । नगरपालिकाले ९ भदौ २०७४ देखि नर्सिङ सेवा सञ्चालन गर्दै आएको छ । तर, कोरोना महामारीका कारण यो कार्यक्रम स्थगित भएको उनले बताए । 

 

नगर उपप्रमुख रजनी जोशीले सो सेवामार्फत नगरबासीको स्वास्थ्य समस्या, सर्ने र नसर्ने रोगको विवरण, स्थानीयको उपचार सामग्रीलगायत तथ्यांक संकलन सहज हुने बताइन् । 


केन्द्रीय सरकारले पहिलो पटक घरदैलो नर्सिङ सेवा सञ्चालन गरेको हो । भक्तपुरमा पहिलेदेखि सो सेवा सञ्चालन भएकाले थप प्रभावकारी बनाउन यसलाई विस्तार गरेर नगरपालिका र बर्दिबासबाट सुरु गरिएको आयोजकको भनाइ छ ।