close

शुक्लाफाँटाले मुक्त हलियाका घर निर्माण गर्न छुट्यायो बजेट

शुक्लाफाँटाले मुक्त हलियाका घर निर्माण गर्न छुट्यायो बजेट

Trulli
ADVERTISEMENT

कञ्चनपुर–शुक्लाफाँटा नगरपालिकाले मुक्त हलियाको घर निर्माणका लागि रु ५० लाख विनियोजन गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकले मुक्त हलियाका २५ परिवारका घर निर्माणका लागि उक्त बजेटको व्यवस्था गरेको हो । 

 

घरबासको व्यवस्था नभएका उनीहरूको आवासका लागि नगरपालिकाको कोषबाट रकम खर्च गर्ने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । ‘पुनःस्थापना हुनबाट छुटेका ‘क’ वर्गको परिचयपत्र पाएका मुक्तहलिया परिवारका लागि घर निर्माण गर्न आवश्यक बजेटको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘जग्गा खरिदको कार्य गत वर्ष नै गरेका हौँ । विविध कारणले गत वर्ष घर निर्माणका लागि बजेटको व्यवस्था गर्न सकेका थिएनौँ । अहिले त्यो कार्य पूरा गरेका छौँ ।’ मुक्तहलिया पुनःस्थापनका लागि नगरपालिकाको वडा १ वन्साहमा जग्गा खरिद गरिएको छ ।


 
पुनःस्थापनका लागि छनोटमा परेका २७ परिवारमध्ये २५ परिवारलाई घर निर्माणका लागि रु दुई लाखका दरले शुन्य मौज्दातमा बैंकमा खाता खोलेर रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । उनीहरूलाई सात धुरका दरले घरबासका लागि जग्गा उपलब्ध गराइएको छ । उक्त जग्गामा दुई कोठा, एक बरण्डा र शौचालय सहितको घर निर्माण हुने राष्ट्रिय मुक्तहलिया समाजका अध्यक्ष सिवी लुहारले बताए । 

 

उनका अनुसार सौचालय निर्माणका लागि प्रतिघरघुरीलाई रु एक लाख ५० हजारका दरले हेविटाट नेपाल नामक संस्थाले सहयोग उपलब्ध गराउने भएको छ । सोही संस्थाले घर निर्माणका लागि प्राविधिक सहयोगसमेत गर्नेछ । घर निर्माणका लागि नक्साङ्कनको कार्य भइसकेकाले केही दिनभित्रै निर्माण कार्य थालिने बताइएको छ ।
 
लगतमा समावेश भई परिचयपत्र पाएका ४५८ मुक्तहलिया परिवार पुनःस्थापना भइसकेका छन् । पुनःस्थापना हुनबाट छुटेका लगतमा समावेश हुन नसकेका मुक्तहलिया परिवारको सङ्ख्या भने ३५२ छ । पुनःस्थापनमा नपरेका परिवार नगरपालिकाका विभिन्न ठाउँका झोपडीमा बस्दै आएका छन् । पुनःस्थापना भएका र लगतमा समावेश हुन नसकेकामध्ये ९९ प्रतिशत व्यक्ति दलित समुदायका छन् । 

 

संविधानको धारा ४० को उप धारा ५ र ६ ले हरेक भूमिहीन दलितलाई राज्यले एकपटकका लागि जमिन उपलब्ध गराई आवासको ग्यारेन्टी गर्ने कुरा उल्लेख छ । सोहीअनुरुप नगरपालिकाले मुक्तहलिया पुनःस्थापनको कार्य अगाडि बढाएको जनाएको छ । पुनः स्थापनमा परेका परिवारले रोजगारी नपाउँदा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । प्रत्यक्ष रोजगारी सिर्जना हुने खालका व्यावसायिक तालिमको व्यवस्था गरिदिन मुक्तहलिया परिवारले माग पनि  गरेका छन् ।