close

गाउँपालिकाले थाल्यो वडामै पुगेर गर्भवतीको स्वास्थ्य परीक्षण

गाउँपालिकाले थाल्यो वडामै पुगेर गर्भवतीको स्वास्थ्य परीक्षण

Trulli
ADVERTISEMENT

बेनी– हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिकाले वडामै पुगेर गर्भवतीको स्वास्थ्य परीक्षण गरेको छ । संघीय सरकारको ससर्त बजेट रहेको ग्रामीण ‘अल्ट्रासाउण्ड’ कार्यक्रम अन्तर्गत पायक पर्ने स्थानमा पुगेर सेवा दिनेगरी पहिलो चरणमा गाउँपालिका –१, कुहुँबाट यो अभियान सुरु गरिएको हो ।

 

गर्भवतीका लागि आधारभूत सेवा गाउँघरमै प्रदान गर्ने तथा समस्या भएमा सघाउने उद्देश्यले गाउँमा पुगेर सेवा दिन थालिएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले बताइन् । गर्भको बच्चा र प्रसूतिको समयमा हुनसक्ने जटिलतालाई न्यूनिकरण गर्ने उद्देश्यले अभियान थालिएको उपाध्यक्ष केसीले बताइन् ।

 

गाउँपालिकाले थालेको अभियानमा गर्भमा रहेको बच्चाको अवस्था असन्तुलित रहेमा थप उपचारका लागि सदरमुकाम पठाउने, गर्भवती महिलाले अपनाउनु पर्ने र जोखिम न्यूनीकरणका लागि आवश्यक सुझावसमेत दिइएको उपाध्यक्ष केसीको भनाइ छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश सरकारबाट प्राप्त अल्ट्रासाउण्ड मेसीन एवम् वन हार्ट परियोजना तथा स्वास्थ्य कार्यालय म्याग्दीबाट प्राविधिक तालिम प्राप्त भएको मंगला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोकाले बताए ।

 

तालिमप्राप्त जनशक्ति गाउँपालिकामा भइसकेकाले फागुनदेखि प्रत्येक महिनाको ४ गते गाउँपालिकाको वडा ३ र ४ बरंजा, ६ गते वडा ५ अर्मन र वडा २ बाबियाचौरमा, २० गते वडा १ कुहुँमा गर्भवती जाँच स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।

 

मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले विगतमा वडास्तरमै पुगेर एकीकृत स्वास्थ्य शिविरमार्फत सेवासमेत दिइएको बताए । मंगला गाउँपालिकाभित्र वार्षिक चार सय १४ जनालाई सेवा दिने लक्ष्य रहेको मंगला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रोकाले बताए । चेक जाँचसहित औषधि सेवन गरेमा मात्र शिशु मृत्युदर समेत घटोस् भन्ने हेतुले यस्तो कार्यक्रम थालिएको स्वास्थ्य शाखा प्रमुख रोकाले बताए ।