close

बीरगञ्जमा ‘मेयर’ स्वास्थ्योपचार सेवा घरदैलो 

बीरगञ्जमा ‘मेयर’ स्वास्थ्योपचार सेवा घरदैलो 

Trulli
ADVERTISEMENT

वीरगञ्ज–मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई लक्षित गरी सुरु गरेको ‘मेयर’ स्वास्थ्योपचार सेवा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विशेष गरी ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला समुदायलाई लक्षित गरी दक्ष चिकित्सकसहितको टोली घरमै पठाएर प्राम्भिक चरणको स्वास्थ्योपचार सेवा उपलब्ध गराउन थालेपछि लक्षित समुदाय लाभान्वित भएका हुन् ।   

 

महानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्र रहेका सबैजसो स्वास्थ्य संस्थालाई प्रभावकारीरुपमा अघि बढाउँदै सर्वसाधारणलाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन विभिन्न कार्यलाई अगाडि बढाउँदै आएको छ । यसै क्रममा अस्पताल तथा स्वास्थ्य संस्थासम्म उपचारका लागि आउन असहज हुने समुदायलाई लक्षित गरी महानगरपालिकाले सुरक्षित मातृत्व र ज्येष्ठ नागरिक समुदायको स्वास्थ्य उपचार सेवाका लागि घरदैलो कार्यक्रम सुरु गरेको हो । त्यसअन्तर्गत दक्ष चिकित्सकसहितको टोलीले ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाको घरमैघरमै पुगेर प्रारम्भिक चरणको स्वास्थ्योपचार सेवा उपलब्ध गराउँदैछ ।   

 

महानगरपालिकाले पहिलो चरणमा वीरगञ्ज–१ देखि १६ नं वडामा रहेका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलालाई घरमै पुगी प्रारम्भिक चरणको स्वास्थ्योपचार सेवाअन्तर्गत स्वास्थ्य परीक्षण, आवश्यक परामर्श सेवासँगै निःशुल्क औषधि वितरण गर्दै आएका हो । औषधि उपचारबाट कोही नागरिक बञ्चित नहुन भन्ने मुख्य उद्देश्यका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी प्रमुख स्वास्थ्योपचार सेवा घरदैलो कार्यक्रम सुरु गरिएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । 

 

सम्मानपूर्वक बाँच्न पाउने सबै नागरिकको अधिकारलाई रक्षा गर्दै घरमै पुगी प्रारम्भिक चरणको उपचार सेवा साथै निःशुल्करुपमा औषधि उपलब्ध गराइएको छ । स्वास्थ्य अवस्था गम्भीर भएकालाई सम्बन्धित उपचार स्थानमा पु¥याउने व्यवस्था मिलाइएको नगर प्रमुख सरावगीले जानकारी दिए । महानगरपालिकाले नगरवासीलाई नियमित स्वास्थ्योपचार सेवा प्रदान गर्न ३२ वटै वडामा स्वास्थ्य केन्द्रमार्फत नगरवासीले प्रारम्भिक चरणको उपचार सेवा लिँदै आएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले जानकारी दिए । 

 

उनले पहिलो चरणमा महानगरपालिकाका सबैभन्दा बढी जनघनत्व रहेको नगरक्षेत्रका १ देखि १६ नं वडामा घरदैलो कार्यक्रम सञ्चालित गरिएको र त्यसका लागि रु १७ लाख बजेट विनियोजन गरिएको बताए । घरदैलो कार्यक्रममा परिचालन गरिएका स्वास्थ्यकर्मीले घरमा रहेका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य परीक्षणदेखि उचित परार्मश दिनाका साथै नेपाल सरकारले उपलब्ध गराएका औषधि निःशुल्करुपमा वितरण गर्ने गरेको अधिकृत पाण्डेले जानकारी दिए । उनले फिल्डमा खटाइएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरीको लगत सङ्कलन गर्ने र त्यसलाई फोनमार्फत नियमित फ्लोअप गर्ने व्यवस्था मिलाइएको बताए । 

 

महानगरपालिकाले सुरु गरेको मेयर स्वास्थ्य उपचार घरदैलो कार्यक्रम सर्वसाधारणका लागि बढी लाभान्वित भएको महानगरपालिकाको वडा नं १ छपकैया निवासी दिलीप सर्राफको भनाइ छ । उनले अस्पताल तथा स्वास्थ्यचौकीसम्म जान नसकिनेलाई घरमै पुगी स्वास्थ्य परीक्षणदेखि आवश्यक स्वास्थ्य परामर्श दिने काम राम्रो भए पनि यसलाई एकपटकमा सीमित नराखी कम्तीमा दई महिनामा भए पनि निरन्तरता दिन आवश्यक रहेको सुझाव दिए ।

 

नगर क्षेत्रमा रहेका ६० वर्षमाथिका वृद्धवृद्धाको रक्तचाप, मधुमेह परीक्षण गर्नाका साथै गर्भवती तथा सुत्केरीको स्वास्थ्य परीक्षण गरी आवश्यक सल्लाह सुझाव दिने गरेको वडा नं १ मा खटिएकी स्टाफ नर्स नाहिदा नाजले जानकारी दिए । उनले घरदैलोका क्रममा मधुमेह तथा उच्च रक्तचाप भएका वृद्धवृद्धाले सेवन गर्ने औषधि परीक्षण गर्नाका साथै नेपाल सरकारले उपलब्ध गराएको निःशुल्क औषधि वितरण गर्ने गरेकोे बताए । 

 

घरदैलो कार्यक्रमका क्रममा भेटिने ज्येष्ठ नागरिकमा सबैभन्दा बढी उच्च रक्तचाप, दम, मधुमेहका बिरामी बढी भेटिने गरेको वडा नं १६ मा खटिएकी स्टाफ नर्स शोभा कुश्वाहाले जानकारी दिए । उनले भेटिएका उच्च रक्तचाप, मधुमेहका बिरामीले सेवन गर्दै आएको औषधिको जाँच गर्नाका साथै औषधि प्रयोग गर्नेलाई नजिकैको स्वास्थ्य केन्द्र वा अस्पतालमा चिकित्सकलाई जचाँउन सल्लाह दिने गरेको बताए ।

 

यता घरदैलोका क्रममा गर्भवती महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनाका साथै आवश्यकदेखि अस्पताल तथा हेल्थपोष्टसम्म पु¥याउने गरेको उनले जानकारी दिए । उनले पछिल्लो १५ दिनको अवधिमा घरदैलो कार्यक्रममा वडा नं १ का ११ टोलमा रहेका ५२ पुरुष र ११९ महिला गरी १७१ र वडा नं १६ मा ११३ पुरुष र २८ महिला गरी १६५ को स्वास्थ्य परीक्षण गरिएको बताए ।  

 

नजिकका छिमेकी पाँच जिल्ला र सीमावर्ती भारतीय सहरको चाप हुने वीरगञ्जको नारायणी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाने गर्भवती महिलाले धेरै समस्या खेप्नुपरेको देखेपछि अस्पतालको चापलाई कम गर्न घरदैलो अभियान थालिएको नगर प्रमुख सवारगीले जानकारी दिए । 


    
महानगरपालिकाभित्र रहेका सर्वसाधारणको उपचारलाई थप प्रभावकारी बनाउन विभिन्न पूर्वाधारको निर्माणदेखि विभिन्न कल्याणकारी योजना ल्याउने तयारी गरिएको छ । स्वास्थ्य जनशक्तिले मात्र राष्ट्रको विकास गर्न सकिने धारणालाई आत्सात् गर्दै महानगरपालिकाले आगामी दिनमा विभिन्न योजना ल्याउने तयारीमा जुटेको नगर प्रमुख सरावगीले जानकारी दिए । 

उनले नगरवासीलाई स्वास्थ्य उपचारमा कुनै समस्या हुन नदिन महानगरपालिकाले ज्येष्ठ नागरिक तथा महिलालाई घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपलब्ध गराउने योजना बनाएको छ । उनले बिरामी भएका नगरवासीलाई वाहनमार्फत अस्पताल लगी उपचारपश्चात् घरसम्म पु¥याउने व्यवस्था गरिएको बताए । 


    
महानगरको ग्रामीण भेगमा रहेका महिलाका लागि थप पाँच बर्थिङ सेन्टर खोल्ने तयारीमा महानगरपालिका रहेको छ । नियमित स्वास्थ्य परीक्षण गराउन आउने गर्भवती तथा सुत्केरी महिलाका लागि पोषिलो खाद्यपदार्थ उपलब्ध गराउने तयारीमा महानगरपालिका रहेको नगर प्रमुख सरावगीले जानकारी दिए । 

 

उनले ग्रामिण भेगका महिलामा आँङ खस्ने ठूलो समस्या देखिएको र त्यस्ता महिलाको पहिचान गरी निःशुल्क उपचार गरी घरसम्म पुर्‍याउने महानगरपालिकाले योजना बनाएको बताए । करिब २० वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई आएपछि यस वीरगञ्ज महानगरपालिकामा पूर्वाधारको विकाससँगै सर्वसाधारणको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखिएको महानगरपालिकाले जनाएको छ ।