close

स्वास्थ्यकर्मी र पोषण सन्देश बोकेर गाउँ घुम्दै उपाध्यक्ष

स्वास्थ्यकर्मी र पोषण सन्देश बोकेर गाउँ घुम्दै उपाध्यक्ष

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा स्वास्थ्यकर्मी र पोषण सन्देश बोकेर गाउँ–गाउँ पुगेकी छन् । अघिल्ला वर्षमा पोषण कोसेली लिएर गाउँमा पुगेकी उनी अहिले पोषण सन्देश फैलाउन गाउँ पुगेकी हुन् । सुनौला हजार दिनभित्रका आमासँग आमा तथा शिशु अवस्थामा ध्यान दिनुपर्ने पोषिलो खानेकुराबारे सहजीकरण गर्नेछन् ।

 

उपाध्यक्षसँगै पोषण सहजकर्ता र स्वास्थ्यकर्मीसमेत गाउँ पुगेका छन् । उपाध्यक्ष बुढाले भनिन्, ‘सुनौला हजार दिनभित्रको समय निकै संवेदनशील हुन्छ । यो समय पोषण आवश्यक पर्छ । जबसम्म पोषिलो खानेकुरा दिइँदैन, तबसम्म आमा र शिशुको स्वास्थ्य अवस्था मजबुत हुन सक्दैन । यो अवस्थामा विशेष ख्याल पु¥याउनुपर्छ ।’ 

 

उपाध्यक्ष बुढा स्थानीय तहको निर्वाचन भइसकेपछि पहिलो वर्ष शुद्ध खानेपानीका लागि फिल्टर बाँड्ने कार्यक्रम लिएर घरदैलोमा पुगिन् । दोस्रो वर्ष अन्डा, तेल र साबुन लिएर पोषिलो खानेकुरा खान र सरसफाइका क्रियाकलापमा बढी केन्द्रित हुन प्रेरित गरिन् ।

 

तेस्रो वर्ष पोषिलो कोसेली लिएर घरदैलो पुगिन् । त्यो बेला उनले भनेकी थिइन, ‘सरकारले सधैँ दिन सक्दैन । अब आफंै पोषिलो आहार बनाउनुहोला । आमा र बच्चाको पोषण अवस्था सुधारमा लाग्नुहोला ।’ उनले स्थानीय स्तरमा उत्पादित वस्तुको जाउलो बनाएर प्रयोग गर्नसमेत सुझाइन् । उपाध्यक्ष बुढाले भनिन्, ‘सधैँ बाँडेर सम्भव हुँदैन । अब पोषिलो खानेकुरा खुवाउने सन्देश दिनुपर्छ । त्यही सन्देश बोकेर गाउँ–गाउँ पुग्ने गरेका छौँ ।’


गत वर्ष सुनौला हजार दिनभित्रका आमालाई पोषण सन्देश लेखिएको झोलासहित पोषण कोसेली दिइएको थियो । ‘यस पटक गर्भवती तथा सुत्केरी आमालाई आफैंले पोषिलो खानेकुरा बनाउन सुझाउँदै आएका छौँ । अब यहाँका आमा र बच्चाको पोषण अवस्था सुधार गर्न उनीहरूलाई जिम्मेवार बनाउनुपर्छ भन्ने ठान्यौँ । यो वर्ष सचेतना फैलाउन गाउँमै पुग्न थालेका छौँ’, उनले भनिन् ।

 

सुनौलो हजार दिनभित्रका महिलाको सन्दर्भमा यो वर्ष पोषण वर्षका रूपमा मनाउन थालिएको उनले बताइन् । पोषण सन्देश छर्ने कार्यक्रम तिला गाउँपालिका वडा नम्बर १ रारागाउँदेखि सुरु भएको थियो । तिला वडा नम्बर ६ घोडेगाउँ विकट छ । पोषण सन्देशसँगै सुरक्षित सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने, नियमित चेकजाँच गर्दै खानपानमा ध्यान दिनु पर्ने,बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउन हरेक आमा तयार हुनुपर्नेमा उनले जोड दिइन् । 

 


‘अहिले पोषणजन्य वस्तु बेचेर चाउचाउ, बिस्कुटजस्ता जंक फुड किन्ने गरिन्छ । आलु बेचेर बजारमा पाइने सोयाबडी किनिन्छ । सिमी, फापर बेचेर मैदा किनेर रोटी बनाइन्छ । त्यही खानेकुरा आमा र बच्चालाई खुवाइन्छ । कसरी हाम्रा आमा र बच्चा पोषित हुन्छन् ?’ उपाध्यक्ष बुढाले भनिन्, ‘कुनै पनि बच्चा पोषित हुन जिल्लाकै पोषिलो उत्पादन प्रयोग जरुरी छ ।’

 


तिला वडा नम्बर १ देखि ९ वडासम्मका २ सय ५० जना गर्भवती आमा भएको पोषण सहजकर्ता जसुकला रावतले बताइन् । १ हजार १ सय ४४ जना सुनौलो हजार दिनभित्रका आमा रहेका छन् । गर्भवती आमा १ नम्बर वडामा ३१, २ वडामा २०, ३ वडामा ४०, ४ वडामा ४५, ५ वडामा २०, ६ वडामा १६, ७ वडामा २१, ८ वडामा २७ र ९ वडामा ३० छन् । सुनौलो हजार दिनभित्रका आमा १ नम्बर वडामा १४५, २ वडामा १६७, ३ वडामा १६६, ४ वडामा २०१, ५ वडामा ७५, ६ वडामा ८८, ७ वडामा ८१, ८ वडामा ९६ र ९ नम्बर वडामा ९५ जना रहेको पोषण सहजकर्ता जसुकला रावत बताउँछन् । 

 

उनीहरूलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर पोषणको महत्त्वबारे सहजीकरण गरिएको छ । कुपोषणबाट आफू बच्न र बच्चालाई समेत बचाउन  आग्रह गरिएको उनले बताइन् । स्वास्थ्य चौकी जुम्लाकोटका इन्चार्ज विराजु जिसीले सुनौला हजार दिनभित्रका आमाले पोषणको महत्त्वबारे संवेदनशील हुनुपर्ने बताए । ‘८० प्रतिशत दिमागको विकास २ वर्षभित्र हुन्छ । यो बेला पोषिलो आहार आवश्यक पर्छ । सुरक्षित स्तनतपान जरुरी हुन्छ । स्तनपान र पोषणबारे गर्भवती तथा सुत्केरी आमा जानकार हुनुपर्छ’, उनले भने ।

 

पोषिलो खानेकुराका लागि अभिभावक पनि उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको उनले बताए । आगामी कार्यक्रम सुनौला हजार दिनभित्रका आमा र अभिभावकलाई सँगै राखेर छलफल गरिने उनले जानकारी दिए ।  स्थानीय स्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अन्डाजस्ता पोषिला खानेकुरा प्रयोग गर्न सुझाव दिइँदै आएको उनको भनाइ छ । 


तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हरेक वडामा सुनौला हजार दिनभित्रका आमासँग भेटघाट र पोषिलो खानेकुराको महत्त्वबारे सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता रावत बताउँछिन् । ‘पहिले सुत्केरी हुँदासमेत गोठमै बस्ने चलन थियो । सामान्य खानेकुरा दिने, खानपान र आराममा ध्यान नदिने गरिन्थ्यो । पहिलेभन्दा अहिले निकै सुधार भइसकेको छ’, पोषण संयोजक रावतले थपिन् ।

 

उपाध्यक्ष आफैँ पुगेर पोषण र पोषिलो खानेकुराबारे गाउँमा सचेतना जगाउन थालेपछि स्थानीय महिला उत्साहित छन् । महिला स्वास्थ्य स्वयंसेविका गोइली बुढा जबसम्म महिला सचेत हुँदैनन्, तबसम्म कुपोषणको चक्र तोड्न नसकिने बताउँछिन् । त्यसका लागि गाउँपालिकाले ल्याएको कार्यक्रम निकै सराहनीय रहेको उनको भनाइ छ ।