close

नागरिकता पुर्‍याउन सिडिओ घरमै पुगेपछि...

नागरिकता पुर्‍याउन सिडिओ घरमै पुगेपछि...

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । गरिबी र शारीरिक असक्षमताका कारण नागरिकता बनाउन छिमेकी गाउँपालिकामा रहेको ईलाका प्रशासन कार्यालयसम्म पुग्न नसकेका दुई वृद्धवृद्धालाई आज घरमै पुगेर नागरिकता वितरण गरिएको छ । 

महाकुलुङ गाउँपालिका- २ का वडाध्यक्ष प्रदीप कुलुङको सहकार्यमा ईलाका प्रशासन कार्यालय सोताङका प्रमुख विष्णुप्रसाद सुवेदी र कम्प्युटर अधिकृत दिनेश राईलाई नागरिकता दिन महाकुलुङ-२ पेल्माङ पुगेका हुन् । 

इलाका प्रशासनका दुई अधिकृत नागरिकता प्रदान गर्न पेल्माङ पुगे पनि कुनै शिविर भने होइन । दुई जना वृद्धवृद्धा नागरिकता बनाउनका लागि इलाका प्रशासनसम्म पुग्न सकेका थिएनन् । उनीहरूलाई नागरिकता दिनकै लागि इलाका प्रशासन कार्यालयका कर्मचारीहरू पेल्माङ पुगेका हुन् । 

वडाध्यक्ष कुलुङका अनुसार नागरिकता पाउनेमा महाकुलुङ-२ का ७३ वर्षीय लाखमान राई र सोही ठेगानाकी कुमारी विक छन् ।  नागरिकता नभएकै कारण उनीहरू सामाजिक सुरक्षाभत्तालगायत सरकारी सुविधाबाट बञ्चित रहेकाले आफूले पहल गरेको वडाध्यक्ष कुलुङले बताए । वडाध्यक्ष कुलुङले घरमै नागरिकता दिलाइदिएपछि राई र विकले खुशी व्यक्त गरेका छन् ।