close

सहर व्यवस्थापनमा सहयोग गर्न मेयर साहको अनुरोध

सहर व्यवस्थापनमा सहयोग गर्न मेयर साहको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले आफू बस्ने सहरको व्यवस्थापनमा जिम्मेवार बन्न अनुरोध गरेका छन् ।

पार्किङ प्रयोजन देखाएर महानगरबाट स्वीकृत भएका भवनको वेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला अर्कै कामका लागि सञ्चालन भएको विषय सुधार गर्न अनुरोध पनि उनले गरेका छन् । 

‘३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि आफैँ सुधारको संकेत नदेखिएपछि हामीले बानेश्वर क्षेत्रबाट कारवाही सुरु गरेका छौँ । यो सहरका सबै ठाउँमा पुग्नेछ,’ प्रमुख साह भन्छन्, ‘कारबाहीमाभन्दा पनि तपाईँको महानगरप्रतिको  जिम्मेवारीमा हाम्रो विश्वास छ । त्यसैले पार्किङका लागि छुट्याइएको ठाउँमा पार्किङ् नै गरिदिनुहोला । यसबाट हामीलाई पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ । सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ । त्यस्तै हामीलाई पार्किङ व्यवस्थापन योजना बनाउन सहयोग पुग्नेछ ।’

बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न महानगरले सार्वजनिक सुचना प्रकाशन गरेको थियो । सूचना गरेको ३५ दिने म्याद सकिएलगत्तै महानगरले बानेश्वर क्षेत्रबाट कारवाही सुरु गरेको छ । 

त्यसक्रममा प्रमुख शाह, महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी, वडा १० का अध्यक्षसहित पदाधिकारी बानेश्वर पुगेका थिए । 
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेकाले महानगरको भौतिक पूर्वाधार र सहरी सुव्यवस्था विभागसँगको समन्वयमा कारबाहीको दायरा फराकिलो बनाउँदै लगिने बताएका छन् ।