close

घर-घरमा पञ्जीकरण सेवा

घर-घरमा पञ्जीकरण सेवा

Trulli
ADVERTISEMENT

तनहुँ । म्याग्दे गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट मात्र प्रदान हुँदै आएको सेवालाई जनताको घरदैलोबाटै प्रदान गर्न लागिएको हो । 

भदौ २४ गतेको कार्यपालिकाको बैठकको निर्णयअनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरी जनतालाई घरदैलोबाट सेवा दिइने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । “सेवालाई जनताको घर आँगनमा पुर्‍याउन एकीकृत घुम्ती शिविरको आयोजना गर्न लागेका हौँ । शिविरबाट सेवाग्राहीलाई सबै प्रकारका सेवा प्रदान गरिनेछ”, अधिकारीले भने । 

घुम्ती शिविरमै चालु आर्थिक वर्षका लागि सञ्चालन गरिने योजनाको सम्झौता पनि गरिनेछ । कृषि, पशु, स्वास्थ्य, घरनक्सा, पञ्जीकरण लगायतका सेवा शिविरबाट प्रदान गरिने गाउँपालिकाले जनाएको छ । 

घुम्ती शिविरबाट विषयगत शाखाअन्तर्गत योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य/आयुर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रीनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रीनिङ, कोभिड विरुद्धको खोप प्रदान गरिनेछ ।

पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बर प्लेट वितरण गरिनेछ । 

एकीकृत घुम्ती शिविर असोज २ देखि ४ सम्म वडा नं. १ मा, असोज ५ र ६ गते वडा नं. २ मा, असोज ७ देखि ९ सम्म वडा नं. ३ मा, असोज ११ र १२ गते वडा नं. ४ मा, असोज २७ र २८ गते वडा नं. ६ मा र असोज ३० र ३१ गते वडा नं. ७ मा सञ्चालन हुनेछ । 
    
गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्‍याउने उद्देश्यले जनताका घरआँगनबाटै सेवा प्रदान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।