close

खुला दिसामुक्त चन्द्रपुरमा प्रयोगविहीन घुम्ती शौचालय, तर शौच घरका भित्तामा

खुला दिसामुक्त चन्द्रपुरमा प्रयोगविहीन घुम्ती शौचालय, तर शौच घरका भित्तामा

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रपुर नगरपालिकाले करिब साढे ३ वर्ष अगाडि करिब १५ लाख खर्च गरेर सञ्चालनमा ल्याएको घुम्ती शौचालय प्रयोगविहीन भएर थन्किएका छन् ।

खुल्ला दिसामुक्त नगरपालिकामा सार्वजनिक शौचालय नहुँदा खुल्लामै दिशापिसाब गर्नु सामान्यझैं देखिन्छ चन्द्रपुरमा । लाखौँ रकममा खरिद गरेको घुम्ती शौचालय सञ्चालन गर्न सकेको छैन। 

नगरपालिकाले सञ्चालनमा ल्याएको दुईवटा घुम्ती शौचालय मध्ये एउटा चन्द्रपुर नगरपालिकाको कार्यालयअगाडि थन्काइएको छ भने अर्को 
चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा वेवारिसे अवस्थामा छ ।

खरिद गरेको केही समय सञ्चालनमा ल्याइए पनि दुई वर्षभन्दा बढी समयदेखि ती शौचालय प्रयोगविहीन बनाएर थन्काएका छन् । लामो समय एक ठाउँमा राखिएका कारण ती शौचालयका पाटपूर्जामा खिया लाग्न थालिसकेका छन् । खेलमैदानमा राखिएको शौचालयको त एउटा चक्कानै गायब भइसकेको छ ।

यसरी नगरपालिकाले लाखौँको लगानी गरेको शौचालय सञ्चालन गर्न नसक्दा नगरपालिका र जनप्रतिनिधिको आलोचना भइरहेको छ ।पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुरमा दैनिक हजारौँको संख्यामा सवारी साधन र  यात्रुहरुको ओहोरदोहोर हुन्छ । यात्रुहरुको खाजा तथा खाना खाने एउटा प्रमुख गन्तव्यको रुपमा रहेको चन्द्रनिगाहपुरमा सार्वजनिक शौचालय नहुँदा उनीहरु होटल तथा मानिसको घरको भित्ता शौच गर्न बाध्य छन् ।

होटल सञ्चालकले पनि केही खानेकुरा खान बसेपछि मात्र शौचालय जान दिने गरेको यात्रुको गुनासो छ । मुख्य व्यापारिककेन्द्र भएकाले यहाँ नगरभित्रका नभएर जिल्लाका विभिन्न स्थानका मानिसहरु किनमेल गर्न र विभिन्न कार्यालयहरुमा सेवा लिनका लागि आउँछन् ।

पछिल्लो समयमा यहाँको जनघनत्व पनि बढ्दै गइरहेको छ । यहाँ आउने यात्रु तथा बटुवाहरु शौच गर्न होटल वा अन्यत्र क्षेत्रमा जानुपर्ने बाध्यता अन्त्य गर्न भनेर ल्याएका घुम्ती शौचालय प्रयोगविहीन भएर थन्किँदा सर्वसाधरण भने जनप्रतिनिधिहरुसँग रुष्ट बनेका छन् । 

नगरपालिकाभित्र सार्वजनिक शौचालयको अभावमा प्रभावकारी हुने विश्वास गरिएको छ। सो घुम्ती शौचालय व्यवस्थित ढंगले संचालन गर्न नगरपालिकाले ध्यान दिनुपर्नेमा बेवास्ता गरेको स्थानीयको भनाइ छ ।

स्मार्ट सिटी भनेर प्रचार गरिएको चन्द्रपुर नगरपालिका सबैलाई सहज होस् भनेर ल्याइएको घुम्ती शौचालय सञ्चालन नहुँदा जथाभावी दिसा–पिसाब गर्नाले नगरमा प्रदूषण बढेको र नगरपालिकाकै इज्जत घटिरहेको उनीहरुको गुनासो छ ।

खरिद गरेपछि केही समय चन्द्रपुर नगरपालिकाले ठेक्कामा लगाएर चन्द्रनिगाहपुर चोक र बजारमा राखेर घुम्ति शौचालय सञ्चालन गरेता पनि त्यसलाई निरन्तरता दिन सकेन । यता चन्द्रपुर नगरपालिकाका भने नागरिकाका सहजताका लागि ल्याइएको घुम्ती शौचालय चाँडै प्रभावकारी ढंगले संचालन गर्ने दाबी गर्छ ।

चन्द्रनिगाहपुर शौच गर्न नपाएर यात्रु तथा बटुवा यताउता छटपटाउने गरेका छन् । जिल्लालाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा चन्द्रपुर नगरपालिकामा एउटा पनि सार्वजनिक शौचालय नहुनु दुःखद भएको र त्यसको विकल्पको रुपमा ल्याइएको घुम्ती शौचालय पनि संचालन गर्न नसक्नुले जनप्रतिनिधिहरुको कमजोरी उदांगिएको स्थानीयको भनाइ छ ।

‘जाबो दुइवटा घुम्ती शौचालय पनि राम्रोसँग चलाउन नसक्ने जनप्रतिनिधिहरुले सिङ्गो नगरपालिका कसरी चलाइरहेका होलान् भनेर स्थानीयले प्रश्न समेत गर्न थालेको छ।