close

यसरी मनाए, ६ स्थानीय तहले संविधान दिवस

यसरी मनाए, ६ स्थानीय तहले संविधान दिवस

Trulli
ADVERTISEMENT

काठमाडौं । आज आठौं संविधान दिवस । संविधान दिवस पारेर राष्ट्रप्रमुख, कार्यकारी प्रमुख, विभिन्न केन्द्रीय कार्यालय, प्रदेश कार्यपालिका तथा स्थानीय सरकाले शुभकामना प्रदान गरेका छन् ।

साथै, तीन दिन संविधान दिवस मनाउन गृह मन्त्रालयको निर्देशनबमोजिम संघीय तथा प्रादेशिक सरकार तथा कार्यालयले संविधान दिवस मनाए । 

त्यसैगरी, शासकीय स्वरुपको सबैभन्दा तल्लो तह स्थानीय सरकारले पनि आज केन्द्रीय सरकारको  आदेशको केन्द्रमै रहेर संविधान दिवस मनाउनुका साथै केही फरक कार्यको पनि शुभारम्भ गरेका छन् । प्रस्तुत छ, पालिकाखबरद्वारा तयार केही स्थानीय तहले मनाएका संविधान दिवसबारे संक्षिप्त रिपोर्ट ।

कागेश्वरी नगरपालिका

कागेश्वरी मनोहरा नगरपालिकाले यस वर्षको संविधान दिवस सामान्य रुपमा मनाएको छ । प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले यस वर्षको संविधान दिवस नगरले सामान्य रुपमा मनाएको बताए ।

‘मन्त्रालयको परिपत्रअनुसार २ गते (हिजो) सरसफाई र आज दीप प्रज्वलन गर्‍यौँ,’ उनले भने, ‘तर, भोलिका लागि कुनै औपचारिक कार्यक्रम छैन ।’

कमलामाई नगरपालिका

सिन्धुलीको कमलामाई नगरपालिकाले औपचारिक कार्यक्रम नगरी संविधान दिवस मनाएको बताए । यस वर्षको संविधान दिवस भव्य कुनै कार्यक्रम नगरी सामान्य रुपमा मनाएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिए । 

उनले भने, ‘ आज बिहान नगरको कार्यालय र सबै वडामा सरसफाई ग¥यौँ । बेलुका नगरको कार्यालय र सबै वडामा दीप प्रज्वलन गरेर संविधान दिवस मनायौँ ।’ तर, भोलिका लागि नगरमा औपचारिक कार्यक्रम केही नभएको उनले बताए ।

म्याङ्लुङ नगरपालिका

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले संविधान दिवसको अवसरमा पाथीभरा मन्दिर रंगरोगन गरेको छ । नगरले नेपाली सेनाको शत्रुपर्दन गुल्म गणसँगको सहकार्यमा सो मन्दिरमा रंगरोगन गरेको हो । 

संविधान दिवसको अवसरमा पाथीभरा मन्दिरको रंगरोगनका साथै नगर सरसफाई तथा साँझ दीप प्रज्वलन गरी संविधान दिवस  मनाइएको नगरप्रमुख सञ्जयकुमार तुम्वाहाङ्फेले जानकारी दिए ।

नमोबुद्ध नगरपालिका

काभ्रेको नमोबुद्ध नगरपालिकाले भकुण्डेबेँसीमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । साथै नगरपालिकाले विभिन्न रंगले नेपालको नक्सासमेत बनाएको छ । कार्यक्रममा नगरप्रमुख रत्नबहादुर लामासहित वडाध्यक्ष, प्रशासकीय अधिकृत तथा स्थानीयको सहभागिता थियो । 

गजुरी गाउँपालिका

धादिङको गजुरी गाउँपालिकाले संविधान दिवस प्रभातफेरि तथा वृक्षरोपण गरी मनाएको छ । साथै, २०७९को अवसरमा आदर्श माविमा वृक्षरोपण गरी संविधान पालिकाले संविधान दिवस मनाएको गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको सचिवालयले जनाएको छ । यस्तै, गाउँपालिकाले संविधान दिवसको अवसरमा सरसफाई तथा दीप प्रज्वलन पनि गरेको छ ।

 गुजरा नगरपालिका

संविधान दिवसको अवसरमा  राैतहटकाे गुजरा नगरपालिका-४ मा नगरप्रमुख सन्तलाल चाैधरीले श्री मावि कनकपुरमा चारकोठे भवन शिलान्यास गरेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ३६ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनकाे साेमबार एक कार्यक्रमबीच सो भवनको शिलान्यास गरिएको हो।