close

तिहारमा पनि खुला हुन्छन् यी स्थानीय तहका कार्यालय

तिहारमा पनि खुला हुन्छन् यी स्थानीय तहका कार्यालय

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल बहुजातीय, बहुभाषिक देश हो । नेपाल १२५ जातजाति र १३१ भाषा बोलिने मुलुक हो । साथै, मुख्यतया: हिन्दू, बौद्ध, इस्लाम,इस्लामिकलगायत धर्मावलम्बीको बसोबास छ । यो नै नेपालको मुख्य विशेषता हो । 

यसैलाई एउटै फूलबारीमा सयौँ फूल भनी कतिपयले प्रसंसासमेत गर्ने गरेका छन् ।   

नेपालमा धार्मिक तथा जातिय विविधता भए पनि एकअर्काको धर्मलाई आधार, सम्मान र सत्कार गर्ने प्रचलन छ । साथै, एकअर्काको धर्म तथा संस्कृति रक्षा  र श्रीवृद्धिका लागि सहजीकरण पनि  । यसैका उदाहरण हुन् माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का गाउँपालिका ।

यतिखेर नेपालका राष्ट्रिय मुख्य चाडमध्ये तिहार देशभर विभिन्न कार्यक्रम गरी मनाउने क्रम जारी छ । तिहार मनाउनका लागि नेपाल सरकारले राष्ट्रिय बिदा पनि दिएको छ । 

तर, हिमाली जिल्ला र बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेका यी गाउँपालिकामा तिहारको कुनै रौनक छैन । सरकारी कार्यालय र विद्यालय सञ्चालनमा छन् । बरु हिन्दु धर्मावलम्बीलाई तिहार मनाउन लामै बिदा दिएर सहजीकरण गरिएको छ । 

शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष मेम्मा वाङछेन गुरुङका अनुसार शे–फोक्सुण्डो गाउँपालिकामा तिहारको कुनै पनि रौनक छैन ।  बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेकाले आफ्नो गाउँपालिकामा तिहारको रौनकता नरहेको उनको भनाइ छ । यद्यपि, नेपालीको महान चाड तिहरको उपलक्ष्यमा आफ्नो र  गाउँपालिकाको शुभेच्छा रहेको उनले बताए । 

‘बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेकाले यहाँ विद्यालय र  कार्यालयहरु सञ्चालनमा छन् । हिन्दु धर्मावलम्बीलाई तिहार मनाउन बिदा दिइएको छ,’ उनले भने । 

यतिखेर स्थानीय खेती किसानमा व्यस्त रहेको उनले बताए ।  उनका अनुसार केही दिनअघि परेको हिउँका कारण दैनिक जनजीवनमा केही प्रभावित  बनेको छ । 

यस्तै, डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङ पनि डोल्पो बुद्ध गाउँपालिकामा तिहरको रौनक नरहेको बताउँछन् । उनका अनुसार बौद्ध धर्मावलम्बीको बाहुल्यता र हिन्दुहरुको उपस्थिति कम रहेकाले गाउँपालिकामै तिहरको रौनक नभएको हो । 

यतिखेर सरकारी कार्यालय र विद्यालयहरु सञ्चालनमा रहेको जानकारी दिए । ‘हामी हिन्दुहरुको महान चाडलाई सम्मान गर्छौँ ।  र शुभेच्छा प्रकट गर्छौँ, उनले भने, ‘ गाउँपालिकामै तिहार नमनाए पनि तिहार मनाउने कर्मचारीहरुलाई बिदा दिइएको छ ।