close

महानगरमा कसरी कम भयो राति फोहोर फाल्न

महानगरमा कसरी कम भयो राति फोहोर फाल्न

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरभित्र राति जथाभावी फोहोर फाल्न कम भएको छ । महानगरले रातको समयमा फोहोर फाल्नेलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि जथाभावी फोहोर फाल्न कम भएको हो । 

महानगरले बिहीबारसम्म साउनयता जथाभावी फोहोर फाल्नेबाट कारबाहीस्वरुप चार लाख पच्चन्न हजार राजस्व स‌ंकलन गरेको नगरप्रहरी तथा प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले बताए । 

पछिल्लो समयमा राति जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने कामलाई प्राथमिकताको साथ महानगरपालिकाले अघि बढाइरहेको छ ।

यो कामलाई अझ आक्रामक ढङ्गले अगाडि बढाउने  महानगरकी वातावरण विभाग प्रमुख सरिता राई बताउँछिन् ।

उनी भन्छिन् ‘केही दिनमा नै नगर प्रहरिको संख्या थप हुँदैछ । योसँगै रातको समयमा जथाभावी फोहोर फाल्नेलाई कारबाहीको क्षेत्रलाई झन फराकिलो बनाउने छौँ ।’

फोहोरमैला व्यवस्थापन ऐन २०६३ र काठमाडौँ महानगरपालिकाको आफ्नै ऐन वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार जथाभावी फोहोर फाल्नेलाई महानगरले कारबाही गरिरहेको छ ।

कानुनमा ५०० लेखि १ लाखसम्म जरिवाना हुने व्यवस्था भएको विभागीय प्रमुख राई बताउँछिन् । कानुनी कारबाहीबाट महानगरले उक्त रकम संकलन गरेको हो । 

रातको समयमा जथाभावी फोहोर फाल्नेलाई कारबाहीस्वरुप जरिवाना गरेर  राजस्व संकलनभन्दा पनि फोहोरको उचित व्यवस्थापन रहेको उनको भनाइ छ । 

उनी भन्छिन्, ‘जसरी भए पनि सहरलाई सफा राख्नुबाहेकको विकल्प छैन । जनतासम्म जथाभावी फोहोर फाल्नुहुँदैन भनेर सुचना पुर्या‍उन, महानगरपालिकाको फोहोर बोक्ने गाडी आएको समयमा मात्र फोहोर फालुन् भनेर कारबाही गरिएको हो ।’ 

महानगरपालिकाको टोलिले निरन्तर अनुगमन गरिरहेका हुन्छन् । नगरप्रहरी, वातावरण विभागको टोली महानगरभरि घुमेर अनुगमन गर्छन् । सिभिल ड्रेसमा र बडी क्यामेरासहित महानगरका कर्मचारी निरन्तर निगरानीमा खटिने गरेको उनले बताइन् । 

रातको समयमा जथाभावी फोहोर फालेमा कारबाही गर्ने प्रक्रिया त महानगरपालिकाले पहिलेदेखि नै चलेको हो । पछिल्लो समयमा महानगरपालिकाले मिडियाको समेत प्रयोग गरेकाले प्रभावकारी देखिएको विभागीय प्रमुख राई बताउँछिन् ।

उनी भन्छिन्, ‘मिडियामा समाचार सम्प्रेषण हुँदा पनि जनतामा जथाभावी फोहोर फाल्नु हुँदैन भन्ने चेतना पुगेको छ । जनतालाई सचेत बनाउनु नै हाम्रो उद्देश्य हो ।’