close

कार्यपालिकाको निर्णय कार्यान्वयनमा रेसुङ्गा नगरपालिका

कार्यपालिकाको निर्णय कार्यान्वयनमा रेसुङ्गा नगरपालिका

Trulli
ADVERTISEMENT

गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । जसमा सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मीवासीको गुल्मी अस्पतालमा मिर्गौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तासम्बन्धीको सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएका थिए ।

पहिलो कार्यपालिकाका यी चार निर्णय र अन्य काम अहिले रेसुङ्गा नगरपालिकाले अभियानकै रुपमा गरिरहेको छ । गत हप्ता नगरपालिकाका ४६ आँखाका बिरामीले नेत्रज्योति सङ्घमार्फत निःशुल्क उपचार पाए। आँखाको ज्योति गुमेका उनीहरुले नगरपालिकाको सहयोगमा मोतियाविन्दुको शल्यक्रियापछि सुन्दर संसार देख्ने अवसर पाएको अनूभूति गरे । योसँगै पहिलो कार्यपालिकाका निर्णय कार्यान्वयन भइरहेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। 

नगरपालिकाले तम्घास बजारलाई सुन्दर बनाउनका लागि अव्यवस्थित तार हटाउने कामलाई पनि अगाडि बढाएको छ । नेपाल टेलिकम गुल्मी, विभिन्न केबल कार्यालय र अन्य झुण्डाइएको तारको व्यवस्थापन अघिल्लो हप्ता निर्णय गरेर यो हप्ता कार्यान्वयनमा गएको नगरप्रमुख पन्थीको भनाइ छ । 

माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट जीपिए ल्याउने विद्यार्थीलाई मासिक चार हजार छात्रवृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयन गरिसकेको छ । नगरपालिकाले जन्म, विवाह र मृत्युदर्ताको काम घरघरमा पुगेर सेवा गरिरहेको छ । 

तम्घास बजारमा रहेको जीर्ण पौवालाई हटाएर नगरपालिकाले सुन्दर प्रतिक्षालय बनाउन थालेको छ । पुरानो बजारमा रहेको इन्द्रवीर पौवा भत्काएर प्रतिक्षालयको काम अगाडि बढेको छ । निजी कम्पनीलाई भाडामा दिएर रेसुङ्गाले हाटबजार सञ्चालन गरेको छ ।

तम्घास बजारको सडक कालोपत्र गरेर सुन्दर बनाउन पनि नगरपालिकाले निर्णय गरेर अगाडि बढेको छ । सडक छेउछाउमा पर्ने खानेपानीका लाइन व्यवस्थापन गर्न उपभोक्ता समितिलाई भनिएको छ । रेसुङ्गा नगरपालिकाभित्रका विभिन्न विकासका योजनाको गुणस्तरीयता र आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीसँग छलफल गरेको नगरप्रमुख पन्थीले बताए।

तम्घासको सहिद चोकको शम्शेरबहादुर खत्रीको शालिकको संरक्षण र व्यवस्थित बनाउन नगरपालिकाले काम गरिरहेको छ । तम्घासको खेलमैदानका रुपमा रहेको चिदिचौरलाई व्यवस्थित बनाउने काम नगरपालिकाले अगाडि बढाएको छ । 

जिल्लाभित्रका सबै सडक पूर्वाधारको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन पनि नगरपालिको अगुवाइमा जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पोडेल, सम्बन्धित कार्यालय प्रमुख र इञ्जिनीयरसँग छलफल गरेर काम अगाडि बढेको नगरप्रमुख पन्थीले बताए। 

नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशको अध्यक्ष समेत रहेका पन्थी आफूहरुले अभियानकै रुपमा काम गरिरहेको बताउँछन् । ‘हामीले अरु पालिकालाईसमेत उदाहरण दिने गरी अभियानकै रुपमा काम गर्नुछ’, उनी भन्छन्, ‘समुन्नत गुल्मीको लागि अभियानमा रेसुङ्गाबाटै काम गरेका छौँं’, उनले भने। ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूलनाराका साथ नगरपालिकाले काम गरिरहेको जनाइएको छ ।