close

दोस्रो कार्यकालमा पनि स्थानीय तह भाँडामै

दोस्रो कार्यकालमा पनि स्थानीय तह भाँडामै

Trulli
ADVERTISEMENT

बाँके । मुलुक सङ्घीयतामा गइसकेपछि स्थानीय तहको दोस्रो कार्यकाल सुरु भइसकेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु अहिले काम गरिरहेका छन् । 
    
   स्थानीय तहले पाँच वर्ष पूरा गर्दा पनि बाँकेमा वडा कार्यालयले आफनै भवन अझै बनाउन सकेका छैनन् । वडा कार्यालय सीमित कोठा भाडामा लिएर सेवा प्रवाह गर्दा सेवाप्रवाह प्रभावकारी नभएको जनगुनासो छ । 
    
   नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत २३ वटा वडा कार्यालय छन् । जसमध्ये अधिकांश वडा कार्यालयसँग आफ्नै भवन छैन । उपमहानगरले भाडामा रहेका वडा कार्यालयका लागि वार्षिक रु ६० हजारदेखि तीन लाख ६० हजारसम्म बजेट बजेट विनियोजन गर्दै आएको छ । 

यद्यपि केही वडा कार्यालयको भवन निर्माणका लागि भने बजेट विनियोजन गरिएको छ । साथै उपमहानगरले चालु आर्थिक वर्षमा वडा कार्यालयका भवन भाडाका लागि रु २६ लाख बजेट विनियोजन गरेको छ । 
     
भवनका लागि उपयुक्त जग्गा तथा बजेट अभावका कारण भवन निर्माण हुन नसकेको वडा नं २१ का अध्यक्ष राजकुमार साहुको भनाइ छ । नेपालगञ्ज उपमहानगर अन्तर्गत मात्रै नभइ जिल्लाका अन्य स्थानीय तहका वडा कार्यालयसँग आफ्नै भवन छैन । 

 बाँकेमा स्थानीय तहका कार्यालयले भाडा नै खर्च गरेर कार्यालय राख्नुपर्ने स्थिति नरहे पनि निर्माणाधीन भवन पूरा नहुँदा साँघुरो ठाउँबाट सेवा दिइरहेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको दाबी छ ।

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकासँग सुविधा सम्पन्न भवन  छ । खजुरा, नरैनापुर, डुडुवालगायतका स्थानीय तहको भवन निर्माणाधीन अवस्थामा छन् । डुडुवा गाउँपालिकाको प्रशासनिक भवनको निमार्ण अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कष्णप्रसाद पौडेलले बताए । उनले भवन निर्माणको काम सकिएको छ भने भवन सर्नका लागि फर्निचरलगायतको व्यवस्थापन भइरहेको छ ।