close

वडास्तरीय योजनाको सम्झौता माघ मसान्तसम्म

वडास्तरीय योजनाको सम्झौता माघ मसान्तसम्म

Trulli
ADVERTISEMENT

मोरङ । विराटनगर महानगरपालिकाले उपभोक्ता समितिमार्फत योजना सञ्चालनका लागि सम्पूर्ण वडास्तरीय योजनाहरुको म्याद थप गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले माघ मसान्तसम्म योजनाहरुको म्याद थप गर्ने निर्णय गरेको हो । 

यसअघि असोज १२ गते बसेको नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७९÷८० को स्वीकृत नीति, कार्यक्रम तथा बजेट पुस १५ गतेभित्र सम्झौता गरिसक्ने निर्णय गरेको थियो । चाडपर्वका कारण तोकिएको समयसीमाभित्र सम्झौता हुन नसकेपछि माघ मसान्तसम्म म्याद थप गर्ने निर्णय गरिएको नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
    
त्यस्तै बैठकले साना र पुराना सडकहरुको यथास्थितिको अवस्थामा नै योजनाहरु कार्यान्वयन गर्नेसमेत निर्णय गरेको छ । बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले तोकेको सडक मापदण्डभन्दा साना र पुराना सडकहरुमा मापदण्डका कारण कार्यान्वयनमा समस्या उत्पत्र भएको र मापदण्डबमोजिम सडक विस्तार गर्दा स्थानीयको घरजग्गा नै बाँकी नरहने अवस्था देखिएपछि हाललाई ती योजनाहरु यथास्थितिमै कार्यान्वयन गर्ने निर्णय भएको अधिकृत कोइरालाको भनाई छ ।