close

गर्भवती महिलालाई वाटर फिल्टर वितरण गर्दै धनपालथान

गर्भवती महिलालाई वाटर फिल्टर वितरण गर्दै धनपालथान

Trulli
ADVERTISEMENT

मोरङ । धनपालथान गाउँपालिकाले गर्भवती महिलालाई वाटर फिल्टर वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी वडा नम्बर २ का गर्भवती महिलालाई वाटर फिल्टर वितरण गरेको हो । 

गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छादारका अनुसार पोषणमैत्री नमुना टोल र पोषणमैत्री स्थानीय तह घोषणा कार्यक्रम बमोजिम वाटर फिल्टर वितरण गरिएको हो । गाउँपालिकाले पालिकाभित्रका ७ वटै वडामा सो कार्यक्रम सञ्चालन गरिने उनले पालिकाखबरलाई बताए । 

गर्भवती महिलालाई शुद्ध खानेपानीको ग्यारेन्टी गर्नको लागि सो  कार्यक्रम सञ्चालन गरिएको उनको धारणा छ । 'हामीले सुरुमा गर्भवती महिलालाई मात्रै वाटर फिल्टर गरेका छौँ । साथै केही समयपछि पालिकाभित्रका विपन्न तथा अशक्त व्यक्तिका परिवारालाई समेत फिल्टर वितरण गर्ने लक्ष्य लिएका छौँ,' उनले भने । 

गाउँपालिकामा खानेपानीको व्यवस्था भएपनि स्वच्छ खानेपानीको व्यवस्थाको लागि सो कार्यक्रम ल्याइएको उनको धारणा छ । पोषणमैत्री गाउँपालिका घोषणाको लागि सुनौलो हजार दिनका महिलालाई पोषणयुक्त खानेकुराको वितरण, जनचेतनामूलक कार्यक्रम, गोष्ठि, तालिम र अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । 

'कार्यक्रमको लागि गाउँपालिकाले ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ,' उनले भने, 'यो वर्ष ४ वटा वडा र अर्को वर्ष ३ वटा वडामा वाटर फिल्टर वितरण गर्ने लक्ष्य छ ।' 

उनले सबै स्थानीयलाई खानेपानीको सुविधाका लागि ट्युबेल वितरण कार्यक्रम सञ्चालन गरिएको जनाएका छन् ।