close

उत्पादनका आधारमा दूधमा अनुदान

उत्पादनका आधारमा दूधमा अनुदान

Trulli
ADVERTISEMENT

चितवन। कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको हो । 

नगरपालिकाले नगरभित्रका सात दुग्ध सहकारी तथा दुई व्यक्तिगत फार्मलाई उत्पादनका आधारमा रू ३४ लाख ४७ हजार छ सय ९३ बराबरको चेक हस्तान्तरण गरिएको नगरप्रमुख विनोद रेग्मीले बताए। उनका अनुसार अनुदान रकम पाउने दुग्ध उत्पादक सहकारी संस्थाहरुमा पदमपुर, मनकामना, कञ्चन, नवमिलिजुली, उत्थान, सामुदायिक र भटेनी सहकारी संस्था लि रहेका छन् ।

 यस्तै व्यक्तिगत फार्म सञ्चालन गरेका किसानमा कान्छी मगर र कृष्णप्रसाद घिमिरेले अनुदान रकम प्राप्त गरेको रेग्मीले बताए। चार वर्षदेखि नगरभित्रका दुग्ध बिक्री गर्ने किसानलाई नगरपालिकाले दूधमा उत्पादनका आधारमा अनुदान दिँदै आएको छ । यसअघि वार्षिक १० हजार लिटर भन्दाबढी दूध बिक्री गर्ने किसानलाई रू २५ हजारका दरले अनुदान दिँदै आएको थियो ।

यस वर्षदेखि दूध उत्पादनको आधारमा अनुदान वितरण थालिएको नगर पशु सेवा शाख प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार नगरपालिकाले कार्यविधि बनाएर दूधमा अनुदान दिन थालेको हो । दूध उत्पादन गरी सहकारी संस्थामार्फत बिक्री गर्ने किसान÷व्यवसायीलाई प्रदेश अनुदानमा थप गरी दुग्ध उत्पादनतर्फ आकर्षण बढाउने नगरपालिकाको मुख्य योजना रहेको छ । 

अनुदान वितरण कार्यक्रममा नगरप्रमुख रेग्मीले किसानलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरिएको बताए। राम्रो दूध उत्पादनका लागि किसानले आहाराको रुपमा घाँसलाई प्राथमिकता दिन उनले सुझाव दिए। 

‘दाना चोक्कर खुवाएर भन्दा घाँस खुवाएर दूध उत्पादन राम्रो हुन्छ’ नगर प्रमुख रेग्मीले भने, ‘दूध उत्पादनका आधारमा दिइएको अनुदानका कारण गत वर्षभन्दा यसवर्ष दूध उत्पादनमा वृद्धि भएको छ ।’

कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले किसानको समस्यालाई सम्बोधन गर्न थोरै रकम भए पनि अनुदानस्वरुप दिन पाउँदा खुसी लागेको बताइन्। उनले आगामी दिनमा अनुदान रकम थप गरेर किसानका विषयमा सम्बोधन गर्न नगरपालिका लाग्ने प्रतिबद्धता जनाइन्।