close

एक सातादेखि वडा कार्यालयमा ताला, ताला खुलाउन वडाध्यक्षले दिएनन् चासो

एक सातादेखि वडा कार्यालयमा ताला, ताला खुलाउन वडाध्यक्षले दिएनन् चासो

Trulli
ADVERTISEMENT

सप्तरी- विष्णुपुर गाउँपालिका ६ नम्बर वडाका स्थानीय बासिन्दाले वडा कार्यालयमा विगत एक सातादेखि ताला लगाएका छन् । वडा कार्यालयको आयव्यय तथा सार्वजनिक सुनुवाईलगायतको माग राखी वडा कार्यालयमा ताला लगाएका हुन् । 

वडा कार्यालयमा ताला लगाएसँगै  विगत एकहप्तादेखि दैनिक कामकाजसमेत प्रभावित भएको छ । तालाबन्दी तथा धर्ना कार्यक्रमले दैनिक क्रियाकलापमा समस्या आउँदासमेत वडा अध्यक्ष प्रमानन्द यादवले ताला खोल्न चासो नदिएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

आर्थिक बर्ष २०७९र०८० को आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको योजना सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समिति गठन प्रक्रिया पारदर्शी गर्नुपर्ने लगायतका माग राखी स्थानीयले एकहप्तादेखी गरेको तालाबन्दी जारी रहेको छ ।

वडा अध्यक्ष प्रमानन्द यादवलाई ज्ञापनपत्रसहित पटकपटक माग सम्बोधनका लागि आग्रह गर्दा समेत सुनुवाइ नभएपछि तालाबन्दीसहित कार्यालय अगाडि धर्ना बस्न बाध्य भएको संघर्ष समितिका अध्यक्ष राजेश कुमार राय (राहुल)ले बताए।

उनले माग सम्बोधन नभएसम्म तालाबन्दी तथा धर्ना कार्यक्रमलाई जारी राख्ने जानकारी दिए । यता सो सम्बन्धमा  वडा अध्यक्ष यादवसंग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । वडा कार्यालयमा लामो समय तालाबन्दी हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।।