close

सुत्केरीलाई गौरीगञ्ज गाउँपालिकाले दियो लैनो गाई

सुत्केरीलाई गौरीगञ्ज गाउँपालिकाले दियो लैनो गाई

Trulli
ADVERTISEMENT

झापा- गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो ।

सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन्। घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन् । यसअघि पति र पत्नीको मजदुरीको कमाइले परिवारलाई चाहिने खाद्यान्नको जोहो हुँदै आएको थियो ।

ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी वस्तीमा बस्दै आएको छ । तिम्ल्याहा सन्तान विराटनगरको नोबेल मेडिकल कलेजमा जन्मिएका थिए । सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।

अहिले तीनजना शिशु हुर्काउन पत्नी एक्लैले नसक्ने भएकाले पतिसहित परिवारका सबै सदस्य लागेर स्याहार गर्दै आएका छन् । ज्यालादारी काममा जान नभ्याउँदा दैनिक कमाइ शून्य भएको छ ।

ताजपुरिया परिवारलाई खाद्यान्न सहयोग र लत्ताकपडाको खाँचो छ । ऐलानी जग्गामा रहेको भुइँघरमा ओछ्याउने र बस्ने न्याना कपडा छैनन् । शिशु बिरामी हुने जोखिम बढेको छ । शिशुलाई लगाइदिने पर्याप्त न्यानो कपडा परिवारसँग छैन । शिशु सुताउने कोक्रो नभएकाले साडीको कामचलाउ झोलुङ्गो बनाइएको छ । सुत्केरी आमा र शिशुलाई लामखुट्टेबाट जोगाउने झुल पनि छैन ।

गौरीगञ्ज गाउँपालिकाले सुत्केरी आमा र नवजात शिशुको भरणपोषणका लागि लैनो गाई प्रदान गरेको छ । पालिकाको तर्फबाट अढाइ लिटर दूध दिने एउटा लैनो गाई निःशुल्क उपलब्ध गराइएको पालिकाकी उपप्रमुख पुजन न्यौपानेले बताए । नवजात तीन शिशुलाई हुर्काउन सहज होस् भनेर पालिकाले दुधालु गाई ३३ हजारमा किनेर दिएको उनले जानकारी दिए। 

लैनो गाई प्रदान गर्न गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी र उपाध्यक्ष न्यौपाने सुत्केरी महिलाको घरैमा पुगेको थियो । नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा पनि पालिकाको टोलीले जानकारी लिएको थियो । अर्थाभावले सुत्केरी र नवजात शिशुको ताजा स्वास्थ्य अवस्थाको परीक्षण हुनसकेको छैन । 

यसैबीच जर्मनीमा रहेका गौरीगञ्जका गजेन्द्र न्यौपानेले पुष्प बरुवाल फाउण्डेसनमार्फत सुत्केरी ताजपुरियाको सहयोगका लागि ३० हजार पठाइदिएको पालिकाका उपाध्यक्ष न्यौपानेले बताइन् । उक्त रकम परिवारको आवश्यकतानुसार खर्च गरिने र नवजात शिशुका नाममा बैंकमा मुद्दति खाता खोलेर जनही पाँच हजार जम्मा गरिदिन दाताले आग्रह गरेको उनले जानकारी दिइन् ।

गौरीगञ्ज गाउँपालिकाले सुत्केरीका लागि दमकसम्मका अस्पताल पुर्याउन गाउँवासीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिँदै आएको र सीमान्तकृत र दलितका कक्षा १ मा पढ्ने छोराछोरीलाई रु पाँच हजारको मुद्दति खाता खोलिदिने कार्य गरिरहेको उपाध्यक्ष न्यौपानेले बताइन् । चालु आर्थिक वर्षदेखि नै कक्षा १ का विद्यार्थीलाई बैंकको मुद्दति खातामा पैसा जम्मा गरिदिने गरी १० लाखको बजेट व्यवस्था गरिएको उनले बताइन् ।