close

हिंसा पीडित महिलालाई शीतल छहारी दिँदै रंगेली

हिंसा पीडित महिलालाई शीतल छहारी दिँदै रंगेली

Trulli
ADVERTISEMENT

मोरङ– पुलिमा(परिवर्तित नाम)लाई  श्रीमानले छाडेपछि जीविकोपार्जन र सन्तानको पढाइको लागि अर्काको घरमा भाँडा माझ्ने काम गर्थिन् । पुलिमाले अरुको घरमा भाँडा माझेरै छोरालाई स्नातक तहसम्म पढाइन् । 

अर्काको घरमा काम गर्ने क्रममा उनी हिंसामा परेपछि नजिकको सरकार रंगेली नगरपालिकामा पुगिन् । उनी हिंसामा परेकी त थिइन् नै; स्वास्थ्य अवस्था पनि ठीक थिएन । 

उनको पाठेघर खसेको थियो । पुलिमाको स्वास्थवस्था थाहा पाएपछि नगरपालिकाले नि:शुल्क पाठेघरको उपचार, शल्यक्रिया र औषधि उपलब्ध गरायो । नगरपालिकाले उपचार गराइदिएपछि उनी निको भइन् । स्वस्थ भइसकेपछि उनलाई पुन:स्थापना गर्नका लागि नगरपालिकाले नि:शुल्क गाई उपलब्ध गराएको छ । 

नगरपालिकाका अनुसार पुलिमाले नै गाई पालन गर्न चाहना राखेकीले सोहीअनुसारको सहयोग गरिएको हो ।  नगरपालिकाले सहयोग गरेपछि उनले अरुको घरमा भाँडा माझ्नु परेको छैन । गाई पालनबाट दूध बेचेरै उनले छोरीलाई स्तानकसम्म पढाउने अठोट लिएकी छन् । 

रंगेली नगरपालिकाले गत आर्थिक वर्षमा पुलिमाजस्तै हिंसामा परेका तीन महिलाको पुर्नस्थापना गरेको छ । पीडित महिलाहरूलाई सहयोग र पुनःस्थापनालाई पालिकाले प्राथमिकताका साथ काम गर्दै आइरहेको नगरपालिकाकी उपप्रमुख भूमा पराजुलीले पालिकाखबरलाई बताइन् । 

यता, शारिरीक अपांगताका कारण घिस्रिएर हिँडडुल गर्न बाध्य ७० वर्षीया महिलालाई पनि नगरपालिकाले उद्धार गरी पुन:स्थापना गरेको उनले बताइन् । ‘ती वृद्ध महिलाको श्रीमान हुनुहुन्न । छोरा वैदेशिक रोजगारीमा गएर सम्पर्कविहीन छन् । उहाँ अरुकै खेतको बोरिङको लागि मोटर रुङ्न बनाइएको छाप्रोमा बास बस्नु हुँदो रहेछ ।’ उपप्रमुख पराजुलीले भनिन्, ‘उहाँमाथि सामुहिक बलात्कार भएको खबर पाएपछि हामीले प्रहरीलाई सूचित गर्‍यौँ । तीन दिनमा अभियुक्त पक्राउ परे । अहिलेसम्म मुद्दा चलिरहेको छ ।’ 

ती वृद्ध महिलाको लागि बसोबास गर्ने घर नहुँदा असुरक्षित भएको थाहा पाएपछि कार्यपालिकाबाट सुरक्षित आवास निर्माण गरिदिने निर्णय गरी सुरक्षित घर निर्माण गरिदिएर उनको पुन:स्थापना गरिदिएको उनले सुनाइन् । 

यस्तै, नगरपालिकाले श्रीमानले छोडेको र आर्थिक अवस्था अति कमजोर भएको अर्का महिलाको पुन:स्थापनामा सहयोग गरेको छ । ती महिलाले आफ्ना साना छोराछोरीहरूको पनि लालनपालन गर्न सक्ने गरी नगरपालिकाको आर्थिक सहयोगमा कस्मेटिक पसल खोलेकी उपप्रमुख पराजुलीले बताइन् । 

यसरी नगरपालिकाले गत आर्थिक वर्षमा लैगिंक हिंसाबाट प्रभावित भएका तीनजना महिलालाई पुन:स्थापना गरेको छ भने १५ जनालाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाको उपप्रमुख बन्नुभन्दा अघिदेखि नै सामाजिक क्षेत्रमा काम गर्दा हिंसा पीडित महिलाहरूको पीडा बुझेको हुँदा हिंसा पीडित महिलालाई सहयोग गर्ने प्रेरणा मिलेको  उपप्रमुख पराजुली बताउँछिन् । महिलालाई न्यायको पहुँचमा कसरी ल्याउने, उनीहरूले न्याय कसरी पाउँछन्, हिंसा प्रभावित महिलाहरूलाई उद्यमशिलतामा कसरी जोड्ने तथा सशक्तीकरण र आत्मनिर्भर बनाउने अभियान अहिले पनि निरन्तर चलिरहेको उनले बताइन् । 

सो अभियानको क्रममा धेरै हिंसा प्रभावित महिला नगरपालिकाको सम्पर्कमा आएको उनले सुनाइन् । त्यसैले नगरपालिकाको नौवटै वडामा हिंसा प्रभावित महिलाको समूह बनाएर काम गरिरहेको छ । 

सो समूहमा रहेकामध्ये सबैभन्दा धेरै जोखिममा र तुलनात्मक रुपमा कम जोखिममा रहेका महिलाहरूलाई वर्गीकरण गरिएको उनले जानकारी दिइन् । उनका अनुसार लैगिंक हिंसा प्रभावित उच्च जोखिममा रहेका महिलाहरूको सशक्तीकरण र न्यायमा पहुँच पुर्‍याउन मद्दत गर्ने गरी काम गर्न नगरपालिकाले समिति तयार गरेको छ । 

जसमा प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयको प्रमुख, संघसंस्थाका प्रतिनिधि, महिला तथा सामाजिक शाखा प्रमुख, उपप्रमुखसहितको ११ जनाको समिति रहने व्यवस्था छ । 

समितिले हिंसा पीडित महिलाको तथ्यांक संकलन गरेर तीन चरणमा पीडितसँग बैठक बसेको उनले बताइन् । ‘तीन चरणमा पुगिसक्दा उहाँहरू आफ्नो कुराहरू आदानप्रदान गर्ने, लुकाउनुभएको समस्याहरू बिस्तारै खोल्दै जानुभयो ।’ लैंगिक हिंसा पीडितका समस्या पहिचान भएपछि उनीहरूको घरमा नै परामर्शकर्ता खटाइएको उनले पालिकाखबरलाई बताइन् ।

हिंसा पीडितले परामर्शकर्तासँग खोलेका कुराहरूको गोपनीयतामा पनि विशेष ध्यान दिइएको छ । ‘११ जनाको समितिमा पनि उहाँहरूको गोपनीयता भंग हुन दिएनौँ । काउन्सिलर र मबीच नै पीडितका कुराहरू गोप्य राख्यौँ,’ उपप्रमुख पराजुलीले बताइन् । 

पीडित महिलाहरूलाई नगरपालिकाले एकै किसिमको सहयोग गर्नुभन्दा पनि उनीहरूको इच्छा बुझेर, आत्मनिर्भर बन्नका लागि के गर्ने चाहना छ भन्ने विषयमा अन्तरक्रिया गरेर सहयोग गरिएको उनले बताइन् । पीडितहरूको चाहना अनुसार नै कस्मेटिक पसल, चिया पसल, कसौँडी पसल, तरकारी पसललगायत खोल्न नगरपालिकाबाट आर्थिक सहयोग गरिएको उनले सुनाइन् । 

उनले भनिन्, ‘केही महिलाले तीन महिनाको सिलाइकटाइ सिकेर सामान्य गाउँघरका कपडा सिलाएर जिविकोपार्जन गर्छु भन्नु भयो । हामीले तालिम दियौँ ।’

यस आवमा पनि हिंसा पीडित महिलाहरू नगरपालिकाको सम्पर्कमा आएको र उनीहरूलाई पनि वर्गीकरण गरेर आवश्यकता अनुसार सहयोग गर्ने उनले बताइन् । नगरपालिकाले आर्थिक सहयोगका साथै पुर्नस्थापना र गोपनीयताको संरक्षण गर्दा पीडितहरू थप खुल्दै गएको उनको भनाइ छ । 

बलात्कारको मुद्दा हेर्ने जिम्मेवारी प्रहरीको भए पनि पीडित परिवारलाई कानुनी परामर्श दिने तथा परिवारलाई काउन्सिलिङ गर्ने काम नगरपालिकाले गरेको उनले सुनाइन् । हिंसा पीडितलाई कानुनी परामर्श सेवा नि:शुल्क उपलब्ध गराइन्छ । 

तत्काल पुन:स्थापना गर्न नसकेका हिंसा पीडित महिलालाई सेफ हाउसमा राखिने उपप्रमुख पराजुलीले पालिकाखबरसँग बताइन् । उनले भनिन्, ‘हाम्रो आफ्नै सेफ हाउस छैन । ओरेक नेपालसँग सहकार्य गरिएको छ ।’ संस्थाको विराटनगरमा रहेको सेफ हाउसमा लगेर राखिने र त्यहीबाट जीवनोपयोगी तालिम, कानुनी परामर्श, स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराइने उनले बताइन् । 

उनका अनुसार हिंसा पीडित महिलालाई घरमा नै पठाउन सक्ने अवस्थामा भए घरमा नै पुन:स्थापना गरिन्छ तथा पुन:स्थापना गर्न नसकुञ्जेल सेफ हाउसमा सुरक्षित राखिन्छ । सेफ हाउसमा नै बसिरहेको अवस्थामा धेरै महिलाले न्याय पाउन सफल भइसकेको उनले सुनाइन् । 

तर, लैंगिक हिंसा पीडितलाई सहयोग तथा उद्दारका लागि संघ र प्रदेश सरकारबाट सहयोग नमिलेको उनले दुखेसो पोखिन् । उनले भनिन्, ‘ लैंगिक हिंसा पीडितको सहयोगको लागि प्रदेश सरकारले ५० हजार रुपैँया पठाएको छ । बाँकी रकम रंगेली नगरपालिकाको कार्यपालिकाबाट पास गरेर हिंसा प्रभावित महिलाहरूको सहयोग र पुन:स्थापनाको लागि बजेट छुट्याएका छौं ।’