close

डोकोमा पानी बोकेर प्यास मेटाउने दिनको अन्त्य

डोकोमा पानी बोकेर प्यास मेटाउने दिनको अन्त्य

Trulli
ADVERTISEMENT

चितवन- इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे । यहाँ अधिकांश चेपाङ समुदायको बसोबास छ । 

अध्यक्ष गुरुङले अब चेपाङ बस्तीमा ‘एक घर एक धारा’ निर्माण हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए । 

१९० घरधुरीका लागि दुईवटा खानेपानी आयोजनाको काम एकैसाथ सुरु गरिएको जनाउँदै गुरुङले पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए । उनका अनुसार गाउँपालिका, स्थानीय उपभोक्ता र वाईन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी योजना सम्पन्न हुनेछ ।

एक करोड ७९ लाख ७३ हजार कूल लागतको आयोजना माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष गुरुङले जानकारी दिए । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजनाको काम सम्पन्न हुने उनको भनाइ थियो । 

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अध्यक्ष गुरुङले गाउँपालिकाले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई सुविधासम्पन्न बनाउने काम गरिरहेको बताए । पूर्वाधार निर्माणमा श्रमदानको अभावमा काम अलपत्र पर्‍यो भन्ने अवस्था आउन नदिन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा उनले जोड दिए । 

घरमै खानेपानीको धारा आउने भएपछि स्थानीयवासी खुसी भएका छन् । खानेपानी आयोजना समयमै सम्पन्न गर्नका लागि आफूहरु निरन्तर श्रमदान गर्न तयार रहेको स्थानीय आइतबहादुर चेपाङले बताए ।