close

भोजपुरको पालिकाले झापा, सुनसरी र काठमाडौंमा शिविर राखेर सेवा दिँदै

भोजपुरको पालिकाले झापा, सुनसरी र काठमाडौंमा शिविर राखेर सेवा दिँदै

Trulli
ADVERTISEMENT

भोजपुर– साल्पा सिलिछो गाउँपालिकाले पालिकावासीको सेवालाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिकामा सडकलगायतका अतिआवश्यक पूर्वाधारको अभाव छ । त्यसैले पालिका केन्द्रसम्म पुगेर सेवा लिन सेवाग्राहीलाई समस्या हुने गरेकाले भन्दै गाउँपालिकाले शिविरमार्फत वडामै पुगेर सेवा दिने गरेको छ । 

गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङका अनुसार हरेक वर्ष गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गर्दै आएको छ । उनका अनुसार घुम्ती शिविरबाट योजना सम्झौता, डाक्टरसहितको स्वास्थ्य सेवा, कृषि तथा पशु सम्बन्ध सेवा, तरकारी तथा फलफूलका बिउ वितरण, अपांग परिचयपत्र वितरणजस्ता सेवा दिइन्छ । साथै, बैंकसँगको सहकार्यमा वडा वडामा नै बैंकको खाता खोलिदिने उनले पालिकाखबरसँग बताए ।

‘विशेषगरी यो सुविधा विकट वडामा उपलब्ध गराइन्छ । वडा नं ५ र ६ मा बैंकिङ सेवा पनि उपलब्ध गराउँछौँ,’ उनले भने । यही २० गतेदेखि २६ गतेसम्म घुम्ती शिविर सञ्चालन भइरहेको उनले बताए । 

६ वटा वडा रहेको साल्पा सिलिछो गाउँपालिकाको कुनै वडा कार्यालयको पनि आफ्नै प्रशासनिक भवन छैन । वडा नं ५ भने भवन भाडामा लिएर सञ्चालन गरिएको अध्यक्ष कुलुङले बताए । चालु आवमा गाउँपालिकाको दुईवटा वडा कार्यालयको प्रशासनिक भवन बनाउने योजना रहेको उनले बताए । उनको अनुसार वडा नं १ र ४ को भवन निर्माण गर्ने योजना छ । तर, वडा कार्यालय सञ्चालनको लागि आवश्यकता अनुसारको कर्मचारीको व्यवस्थापन गरिएको उनले बताए । 

पालिकाबाहिर पुगेर पनि सेवा दिँदै

गत पुस्-माघसम्म पालिकाभित्र नै घुम्ती शिविर सञ्चालन गरेर सेवा दिएपछि पालिका बाहिर रहेका सेवाग्राहीलाई पनि सेवा उपलब्ध गराउने योजना रहेको उनले बताए । पालिका बाहिर बसोबास गर्ने स्थानीयलाई पालिकाले प्रदान गर्ने सेवा सुविधा उपलब्ध गराउने उनले सुनाए । 

उनको अनुसार साल्पा सिलिछो गाउँपालिकाबाट काठमाडौंका साथै झापा, मोरङ र सुनसरीमा धेरै स्थानीयहरु अध्ययन, रोजगारीको शिलशिलामा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । सेवाग्राहीलाई पालिकासम्म पुगेर सेवा लिनुपर्ने झन्झटबाट मुक्त गराउन आफैँ सेवाग्राही भएको ठाउँमा पुग्ने योजना उनको छ । 

गत आर्थिक वर्षमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी काठमाडौंसम्म पुगेर सिफारिस लगायतको सेवा दिएको उनले बताए । उनले भने, ‘गत वर्ष काठमाडौंमा नै गएर सेवा शिविर सञ्चालन गर्दा सेवाग्राही निकै खुसी हुनुभएको थियो । यस वर्ष झापा, मोरङ, सुनसरीमा गाउँपालिकाको सेवा शिविर सञ्चालन गर्ने योजना छ ।’ 

साल्पा सिलिछोले काठमाडौंमा पुगेर सेवा उपलब्ध गराएपछि सोलुखुम्बुका स्थानीय तहले समेत काठमाडौंमा पुगेर सेवा उपलब्ध गराएको उनले बताए । पालिका बाहिर रहेका तथा विदेशसम्म रहेका पालिकाबासीलाई गाउँपालिकाका सम्पूर्ण जानकारी दिने उदेश्यले मोबाइल एप समेत सुरु गरेको उनले बताए । करिब ८ महिनादेखि एप निर्माणको काम सुरु गरिएको हो । 

‘आईटी अफिसर नभएर बीचमा काम रोकिएको थियो । अहिले नयाँ आइटी अफिसर आएर डाटा अपलोड गर्दै हुनुहुन्छ,’ मोबाइल एपमा डाटा अप्लोडको काम चाँडै सकिने उनले बताए । सो एपबाट गाउँपालिकाको जनप्रतिनिधि पालिका कार्यालयमा भएको/नभएको सूचना समेत मोबाइलबाटै सेवाग्राहीले प्राप्त गर्न सक्छन् ।