close

एकल पुरुष, तेस्रोलिङ्गी र एक महिलालाई मासिक भत्ता

एकल पुरुष, तेस्रोलिङ्गी र एक महिलालाई मासिक भत्ता

Trulli
ADVERTISEMENT

इलाम- एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । 

देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ । 

देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ । देउमाईले गएको आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका २०७ जना एकल पुरुषलाई २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए । 

चालु आवमा भने गत वर्षको तुलनामा एकल पुरुषको सङ्ख्या १० जनाले घटेको छ । चालु आवको पहिलो त्रैमासिकमा १९७ जना एकल पुरुषले भत्ता लिएका छन् । लेखा अधिकृत येक्तेनका अनुसार पहिलो त्रैमासिकमा १९७ जना एकल पुरुषले पाँच लाख ९१ हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा एकल पुरुष भत्ताका लागि २८ लाख विनियोजन गरेको छ । 

एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको देउमाई नगरपालिकाका प्रमख सूर्य पोख्रेलले बताए । 

त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक एक हजार र तेस्रोलिङ्गीलाई मासिक पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गएको आवमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले १० लाख ५६ हजार पाएका छन् । 

चालु आवमा भने गत वर्षको तुलनामा दुईजना थप भएको छ । चालु आवको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि १० लाख विनियोजन गरेको छ । तेस्रोलिङ्गीहरु भने भत्ता लिन कोही नआएको लेखा अधिकृत येक्तेनले बताए ।