close

बगनासकालीमा अपाङ्गता भएका शतप्रतिशतलाई भत्ता

बगनासकालीमा अपाङ्गता भएका शतप्रतिशतलाई भत्ता

Trulli
ADVERTISEMENT

पाल्पा- बगनासकाली गाउँपालिकाले 'ग' र 'घ' वर्गका अपांगता भएका व्यक्तिलाई मासिक भत्ता वितरण गर्दै आएको छ । नेपाल सरकारले क र ख लाई मात्र भत्ता दिने गरे पनि गाउँपालिकाले 'ग' र 'घ' लाईसमेत मासिक भत्ता दिइरहेको हो । 

गाउँपालिकाले अपांगता भएका व्यक्तिहरूको लागि पालिका संरक्षक रहने घोषणा गरेसँगै 'निर्वाह भत्ता' स्वरुप मासिक भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकाको उपाध्यक्ष हरिप्रसाद पाठकका अनुसार अपांगता भएका व्यक्तिको जीवनयापनमा केही सहज होस् भन्ने उदेश्यले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रमअनुसार गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएको उनले पालिकाखबरलाई बताए । 

गाउँपालिकाले अपांगता भएका व्यक्तिमध्ये 'ग' वर्गलाई ५०० रुपैयाँ र 'घ' वर्गलाई ३०० रुपैयाँ वितरण गर्दै आएको उनको भनाइ छ । उनका अनुसार सो रकम बैंक खातामार्फत वितरण गर्दै आएको छ । 

गाउँपालिकाले मासिक भत्ता वितरण गर्नुका साथै सामग्रीसमेत वितरण गर्दै आएको उनले बताए । उनका अनुसार गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुको पहिचान गरी निःशुल्क सामग्री वितरण गर्दै आएको छ । सो कार्यक्रमको लागि गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ । 

गाउँपालिकाको पञ्जिकरण शाखाका प्रमुख भोजराज भट्टराईका अनुसार पालिकाभित्र ३८८ जना अपांगता भएका व्यक्तिहरु रहेका छन् । तीमध्ये 'क' वर्गमा ४७ जना, 'ख' वर्गमा १०८ जना, 'ग' वर्गमा ४९ जना र 'घ' वर्गमा ८४ जना रहेका छन् । 

गाउँपालिकाले 'ग' र 'घ' वर्गलाई लक्षित गरी मासिक रुपमा भत्ता वितरण गर्दै आएको उनको भनाइ छ । यता 'क' र 'ख' वर्गलाई नेपाल सरकारले मासिक भत्ता वितरण गर्दै आएको उनले सुनाए ।

गाउँपालिकाले आवश्यक कार्यविधि बनाएर भत्ता वितरण गरेको उनको भनाइ छ । सो कार्यविधि अनुसार सम्बन्धित वडाको सिफारिस, सम्बन्धित व्यक्तिको निवेदन, परिचय पत्र र चिकित्सकको स्वघोषणाको आधारमा रकम वितरण गरिने उनले सुनाए । 

'क'  र 'ख' वर्गमा नपरे पनि अपांगता भएकै कारण केही काम गर्न नसक्ने व्यक्तिको जीविकोपार्जनमा सहज वातावरणको सृजना गर्नको लागि सो कार्यक्रम गाउँपालिकाले पहिलो पटक ल्याएको उनको भनाइ छ । साथै गाउँपालिकाले १५ दिनको अन्तरालमा शिविर सञ्चालन गर्दै आएको उनले सुनाए । 

स्थानीय सरकार घरआँगनकै सिँहदरबार भएको र आफ्नो स्थानीय बासिन्दाको आपन्त्व दिनको लागि सो कार्यक्रम ल्याएको उनले सुनाए । कार्यक्रमबाट थोरै मात्रै रकम उपलब्ध हुने भएता पनि केही राहत मिल्ने उनले बताए । 

उनका अनुसार गत वर्ष गाउँपालिकाले वार्षिक रुपमा एकमुष्ठ रकम वितरण गर्दै आएको थियो । तर चालु आवदेखि ६ महिनाको अन्तरालमा सो भत्ता वितरण गर्दै आएको छ । रकम गाउँपालिकाले बैंक खातामा नै जम्मा गरिदिने उनले सुनाए । अशक्त व्यक्तिलाई गाउँपालिकाले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको उनको भनाइ छ ।

गाउँपालिकाले अपांगता भएको व्यक्तिलाई लक्षित गरी आयआर्जन तथा सीपमूलकको कार्यक्रम सञ्चालन गरेको उनले सुनाए । उनका अनुसार गाउँपालिकाले अपांगता भएको व्यक्तिलाई लक्षित गरी बाख्रा पालन तथा सीप मूलक कार्यक्रम सञ्चालन गरेको छ । 

५० प्रतिशत साझेदारीमा सञ्चालित सो कार्यक्रम वडा सरकारमार्फत हुँदै आएको छ । अपांगता भएको व्यक्तिले माग गरेको आधारमा वडा सरकारले वितरण गर्दै आएको उनले सुनाए । 

गाउँपालिकाको वडा नम्बर १, ३ र ८ मा सो कार्यक्रम सञ्चालन भएको छ । बाँकी अन्य वडा कार्यालयमा पनि सञ्चालन हुने उनले सुनाए । वडा नम्बर १ र ६ मा विपन्न परिवार धेरै भएकाले सो क्षेत्रलाई प्राथमिकता दिइएको छ । कार्यक्रमबाट स्थानीय बासिन्दाले आर्थिक आर्जन गर्दै आएको उनको भनाइ छ । 

साथै गाउँपालिकाले अभिभावकबिहीन बालबालिकाको अभिभावकत्व लिँदै आएको छ । गाउँपालिकाले सो बालबालिकाको लागि मासिक एक हजार रुपैयाँ भत्ता वितरण गर्दै आएको उनले जानकारी दिए ।