close

सियारी मुलुककै उत्कृष्ट स्थानीय तह कसरी बन्यो ?

सियारी मुलुककै उत्कृष्ट स्थानीय तह कसरी बन्यो ?

Trulli
ADVERTISEMENT

रुपन्देही - सियारी गाउँपालिका स्थानीय तह क्षमता विकास स्वमूल्यांकन (लिजा)मा मुलुकभरकै उत्कृष्ट स्थानीय तह भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०७८/०७९ को नतिजाअनुसार सियारी मुलुकभरकै उत्कृष्ट स्थानीय तह भएको हो ।

सियारीले लिजामा ८८ दशमलव ५ प्रतिशत अंक ल्याएर उत्कृष्ट स्थानीय तह भएको गाउँपालिकाले जनाएको छ । लिजाको स्वमूल्यांकन १० विषय क्षेत्रको मूल्यांकनबाट गाउँपालिका उत्कृष्ट भएको जनाइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहमति र समन्वयमा काम, विवादरहित याेजना निर्माण, निस्वार्थ भावनामा काम भइरहेकोले उत्कृष्ट स्थानीय तह भएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताए । 

गाउँपालिकाले योजना निर्माणको क्रममा विवादरहित आयोजना छनौट गर्नुको साथै समयमै सम्पन्न गर्न सकेकोले सो उपलब्धि हासिल गर्न सकेको उनले पालिकाखबरलाई सुनाए । ‘हामीले ल्याएका सबै योजनामा सफतापूर्वक सम्पन्न गरेका छौँ  । बेरजू र पेश्की खर्चमा हाम्रो पालिकामा समस्या छैन,’ उनले भने, ‘विवादरहित तरिकाले योजना छनौट गरेकाले हामी सो सफलता पाएका हौँ ।’ 

नीति निर्माणको क्रममा स्थानीय तहले विवादस्पद योजना छनौट गरेमा समयमै काम गर्न नसक्ने उनको अनुभव छ । ‘निर्माण कार्यमा विवाद भएपछि काम सम्पन्न गर्न समस्या हुन्छ । सम्पन्न नभएपछि गाउँपालिकाको प्रगती हुन सक्दैन । अनि नतिजा राम्रो आउँदैन,’ उनले भने ।

योजना निर्माणको क्रममा गाउँपालिकाले जनताको भावनाको कदर गर्नुपर्ने उनले सुनाए । सो योजनामा स्थानीय बासिन्दाको आपनत्व हुने गर्दछ । आफूले पनि जनताको आवश्यकता अनुसार योजना ल्याएको उनले सुनाए । 

‘जनताको चाहना अनुरुप योजना लिएर आयौँ । जनचाहनाको योजना कार्यान्वयनमा ल्याएपछि सफल भइहाल्छ नि,’ उनले भने, ‘जनताको आवश्यकताको योजनाहरु छनौट गरेर काम गर्दा खेरी विवादरहित रुपमा छिटो सम्पन्न हुन्छ । लिजामा मास्क पर्छ । योजना छनौटमा अलमलियो भने काम गर्न गाह्रो हुन्छ ।’ 

आफ्नो पालिका मुलुकभरकै उत्कृष्ट स्थानीय तह भए पनि विभिन्न समस्या भोग्नु परेको उनको भनाइ छ । केन्द्रीय सरकारले समयमै बजेट नदिने भएकाले आर्थिक अभाव भएको उनको गुनासो छ । 

‘सीमित स्रोत साधनको उपलब्धता छ  । पैसाको कमी  छ,’ उनले भने, ‘सरकारले पठाउनु पर्ने राजस्व अहिलेसम्म पठाउन सकेको छैन । ५० प्रतिशत मात्रै पठाएको छ । त्यसले गर्दा समस्याहरु धेरै छन् ।’

जनप्रतिनिधिहरुमा स्वार्थ  भएमा पनि पालिकामा भ्रष्टाचार हुने उनले सुनाए । तर जनप्रतिनिधिले स्वार्थबिना काम गरेमा पालिकामा हुने अधिकांश काम राम्रो हुने उनको अनुभव छ । ‘स्वार्थ नभई गरेका काम राम्रो हुन्छ । जनप्रतिनिधि स्वार्थी भएन भने कर्मचारीले पनि आस गर्नुहुन्न,’ उनले भने, ‘कर्मचारीले नै आश नगरेपछि काम छिटो र राम्रो हुन्छ ।’ जनप्रतिनिधिले गरेको कामको आधारमा कर्मचारीले पालिकामा काम गर्ने उनले जानकारी दिए ।

राम्रो काम गर्नको लागि आफूले आफ्नो पारिश्रमिकबाट स्थानीय बासिन्दालाई सहयोग गर्दै आएको उनले बताए । आफ्नो सेवा सुविधाबाट विपन्न परिवारलाई छात्रवृत्ति तथा पालिकाको तीन चेलीको विवाहको लागि आर्थिक सहयोग गरेको उनले सुनाए । 

‘जनप्रतिनिधि निःस्वार्थ हुनुपर्छ । मेरो पारिश्रमिक लिएको छैन । मेरो पारिश्रमिक छात्रवृत्तिको रुपमा प्रयोग गरेको छ,’ उनले भने, ‘जुन सबै जनप्रतिनिधि र कर्मचारीले मेरो सामाजिक कार्यलाई देख्नु भएको छ । त्यसैले पनि कसैले पनि स्वार्थपूर्ण रुपमा काम गर्न सक्नु भएको छैन ।’ 

आफूले पालिकाभित्रका कर्मचारी र जनप्रतिनिधिसँग समन्वय र सहकार्य गर्दै आएको उनले सुनाए । आफूलाई सबैले सहयोग गरेकै कारण राम्रो नतिजा आएको उनले जानकारी दिए । ‘स्थानीय तहभित्र सबैको सहभागिता हुनुपर्छ । समन्वय हुनुपर्छ । एक्लैले मात्रै गर्न सकिदैँन । सबैको योजनालाई समेटेर काम गर्नुपर्छ,’ उनले भने । 

लिजाको नतिजाले आफूलाई खुसीसँग थप जिम्मेवारी बढेको महसुस गरेको उनले सुनाए । लिजाको नतिजाले पालिकाभित्र सुशासन, नीतिगत तथा योजनाबद्ध रुपमा काम गर्ने उनले बताए ।

आफ्नो कार्यकालमा सियारी करिडोर निर्माण, खोलालाई चौडा गरी ड्याममा निर्माण, खोला दायाँ भागमा डबल लेन सडक निर्माण गर्ने पानी भएको ठाउँमा बोटिङको व्यवस्था गर्ने योजना बनाएको उनले सुनाए । सो क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माणका लागि निजी संस्थासँग साझेदारी गर्ने उनको योजना छ ।