close

वडा सचिव नभएपछि वडा कार्यालमा ताला

वडा सचिव नभएपछि वडा कार्यालमा ताला

Trulli
ADVERTISEMENT

बाजुरा- बुढीगंगा नगरपालिका- ७ को वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । नगरपालिकाले वडा सचिव नपठाएको भन्दै स्थानीय र राजनीतिक दलले वडामा तालाबन्दी गरेको हो ।

वडा कार्यालयमा तालबन्दी गरेसँगै वडाबाट दिइने सबै सेवा ठप्प भएको छ । वडा कार्यालयमा नगरपालिकाले लामो समयदेखि वडा सचिव नपठाएको र सेवा सुविधा सबै रोकिएकोले स्थानीय बासिन्दाले तालबन्दी गरेको वडाध्यक्ष भवनसिंह केसीले बताए । वडा सचिव नभएपछि वडा कार्यालयमा व्यक्तिगत घटना दर्ता तथा सिफारिसको कार्यसमेत रोकिएको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार केही समय नगरपालिकाले करार सेवाका कर्मचारी भुवनराज जोशीलाई वडा सचिवको रुपमा पठाएको थियो । तर सो कर्मचारी केही समयमै वडा नम्बर ८ र वडा नम्बर ५ मा पठाएको उनले बताए । वडा सचिवलाई छिमेकी वडामा पठाएकोले स्थानीय जनता पनि सेवाको लागि सोही वडा कार्यालयमै जान बाध्य भएको उनको गुनासाे  छ ।

'वडा सचिव अर्को वडामा गएपछि स्थानीय जनता पनि सेवाको लागि दुई घण्टा हिडेर सोही कार्यालयमा जान बाध्य भए,’ उनले भने, ‘वडाबाट पाउने सेवाबाट स्थानीय बासिन्दा बञ्चित भएकाले कार्यालय नै बन्द गरेको हो ।’

केही समयपछि नगरपालिकाको चन्द्रप्रकाश जोशीलाई वडा सचिवको रुपमा पठाए पनि दैनिक ४०० रुपैयाँ खर्चेर आउजाउ गर्नुपर्ने उनले सुनाए । ‘चन्द्रप्रकाश सरलाई पठाउनु भएको थियो । तर उहाँ दैनिक ४०० रुपैयाँ खर्चेर आउजाउ गर्नुपर्थ्यो,’ उनले भने, ‘उहाँलाई पनि केही समयमै नगरपालिकाले फिर्ता बोलायो ।’

एक जना कार्यालय सहयोगीको भरमा मात्रै वडा सञ्चालनमा रहेको उनले सुनाए । वडा कार्यालयमा वडा सचिव नभएकाले २०७९/०८० देखिको कार्यक्रम नै रोकिएको उनले बताए ।

आफूले वडा सचिवको लागि नगरपालिकासँग पटक/पटक अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको उनको दुखेसो छ । 'मैल नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र जिल्ला प्रशासन कार्यालयमा समेत लिखित रुपमा माग पेश गरेको छु । तर कुनै पनि सुनुवाई भएन,' उनले भने, 'कुनै पनि सुुनुवाइ नभएपछि हाल वडा कार्यालय नै बन्द छ ।'

दोस्रो कार्यकालको लागि निर्वाचित भएका वडाध्यक्ष केसीले पहिलो कार्यकालमा सो समस्या भोग्नु नपरेको बताए । आफू फरक पार्टीको भएकाले पनि हाल समस्या सृजना भएको उनले आरोप लगाए । ‘म नेपाली काँग्रेसबाट निर्वाचित भएको छु । नगरपालिकामा नेकपा एमालेको बहुमत छ,’ उनले भने, ‘फरक पार्टी भएकाले पनि मेरो वडामा सचिव पठाएको छैन ।’

वडामा ताला लगाए पनि कहिले खोल्ने भन्नेबारे आफू जानकार नभएकाले उनको भनाइ छ । ‘मैले ताला लगाएको होइन । स्थानीय बासिन्दाले लगाएको हो,’ उनले भने, ‘मैले खोल भन्दैमा खोल्ने बन्द गर भन्दैमा बन्द गर्ने होइन । अनिश्चितकालीन ताला लगाएको हो। कहिले खुल्छ मलाई थाहा छैन ।’
 

चार वडा सचिवको भरमा १० वटा वडा सरकार
नगरपालिकामा कर्मचारी कम भएकाले वडागत रुपमा सचिव पठाउन नसकेको पालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए । १० वटा वडा कार्यालय रहेको नगरपालिकामा चार जना मात्रै वडा सचिव रहेको उनले पालिकाखबरलाई सुनाए । 

‘वडा नम्बर ७ मात्रै होइन । सबै वडाको समस्या हो । हामीसँग चार जना मात्रै वडा सचिव हुनुहुन्छ । एक जनाको भागमा ३ देखि ४ वटा वडा पर्छ,’ उनले भने, ‘वडा सचिवले पालैपालो काम गर्दै आउनु भएको छ । दिन विराएर फरक फरक वडामा काम गर्नुहुन्छ ।’

नेट चल्ने र पायक परेकाे ठाउँमा बसेर काम गरेर चाँडै काम सकाउने उनले सुनाए ।तर सो वडामा वडा सचिव नै जान नमान्ने उनले बताए । हामीले जति वडा सचिव पठाए पनि टिक्न सक्नु हुन्न । सो वडामा सचिव पनि जान मान्नु हुन्न, उनले भने, जनप्रतिनिधिको कारणले पनि समस्या सृजना भएको हो । जनप्रतिनिधिको कारणले लामो समयदेखि वडा सचिव जान सकेको छैनन् । 

वडा कार्यालयले पनि अनावश्यक हल्ला गरेकाे उनकाे आराेप छ । 'उहाँहरुले जुन समस्या भन्नु भएकाे छ । त्याे छैन,' उनले भने, 'उहाँले अनावश्यक हल्ला मात्रै गरेकाे हाे ।'

नगरपालिकामा वडा सचिवसँगै अन्य कर्मचारी पनि कम रहेको उनले सुनाए । नगरपालिकामा रहेको कर्मचारीको सरुवाका साथै विकट पालिका भएकाले कर्मचारी पनि जान नमान्ने उनले बताए । 

कर्मचारीको व्यवस्थापनको लागि आफूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगलाई ताकेता गर्दै आएको उनले जानकारी दिए । कर्मचारीको व्यवस्थापन भएसँगै सो समस्याको समाधान हुने उनले बताए ।