close

संघ सरकारको झन्झटिलो प्रकृयाका कारण पर्सागढीका लाभग्राही सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

संघ सरकारको झन्झटिलो प्रकृयाका कारण पर्सागढीका लाभग्राही सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

Trulli
ADVERTISEMENT

पर्सा- पर्सागढी नगरपालिका र धोबिनी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता समयमा वितरण नहुँदा सेवाग्राहीहरू मारमा परेका छन् ।

पर्सागढी नगरपालिका र धोबिनी गाउँपालिकाका लाभग्राहीले पुस मसान्तमा पाइसक्नुपर्ने भत्ता नेपाल सरकारले विद्युतीय भुक्तानी प्रणाली (इएफटी) अनिवार्य गरेपछि ढिलाइ भएको हो । चालू आव २०८०/८१ को दोस्रो किस्ता अर्थात् कात्तिक, मङ्सिर र पुस महिनाको सामाजिक सुरक्षा भत्ता माघ महिनाको दोस्रो सातासम्म वितरण हुन सकेको छैन । एकल महिला, वृद्धवृद्धा, अपाङ्ग र दलित बाल संरक्षण भत्ता वितरण हुन नसकेको हो । 

धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानका अनुसार गत असोजमा नेपाल सरकारले इएफटी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति अनिवार्य गरेपछि आन्तरिक अपडेटको कामले ढिलाइ भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयमा भुक्तानी आदेश आजै पठाइने गरी काम भइरहेको हुँदा छिटै भुक्तानी हुने उनको विश्वास छ । 

इएफटी प्रणालीमा कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले प्रत्यक्षरूपमा सेवाग्राहीको खातामा रकम पठाउने गर्छ । यस प्रणालीमा भत्ता रकम पालिकाको खातामा नआउने र पालिकाले भत्ता रकम पठाउनु नपर्ने व्यवस्था छ । 

पर्सागढी नगरपालिकाका पञ्जिकरण शाखाप्रमुख     मनोज राउत थारूकाअनुसार नगरपालिकाभरिका करिब ३ हजार ४०० लाभग्राहीमध्ये ८१ जना सेवाग्राहीको बैंक खातासमेत नभएको हुँदा वडामार्फत ताकेता गरिसकिएको छ । 

सरकारले गत असोजमा इएफटी अनिवार्य गरेपछि सबै लाभाग्राहीको केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण(केवाइसी) अपडेटमा समय लागेको हुँदा केही हप्ता ढिलो भएको पञ्जिकरण शाखाप्रमुख थारु बताउछन् । उनका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गत पुस २६ गतेमात्र तालिम प्रदान गरेको थियो । 

हाल दुवै स्थानीय तहले केवाइसी अपडेटको काम सम्पन्न गरी कोष तथा लेखा नियन्त्रण कार्यालयमा भुक्तानी आदेश पठाइन लागेको बताएका छन् । अब केहीदिन भित्रै लाभग्राहीले दोस्रो किस्ताबापतको रकम पाउने गरी काम भइरहेको सम्बन्धित शाखाका कर्मचारीहरूले बताएका छन् ।