close

९३९ जनाले वडाबाटै पाए सामाजिक सुरक्षा भत्ता

९३९ जनाले वडाबाटै पाए सामाजिक सुरक्षा भत्ता

Trulli
ADVERTISEMENT

भोजपुर - रामप्रसादराई गाउँपालिकाले वडा कार्यालयमार्फत ९३९ जना स्थानीय बासिन्दालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८० र ०८१ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा वितरण गरेको हो । 

गाउँपालिकाले माघ १४ गतेदेखि वडामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको थियो । गाउँपालिकाले क्रमश वडा नम्बर १ मा १५८ जना, २ मा १०९ जना, ३ मा १६६ जना, ४ मा १२९ जना, ५ मा १०० जना, ७ मा १६० जना र ८ मा ११७ जना गरी ९३९ जना लाभग्राहीलाई सामाजिक सुरक्षा वितरण गरेको गाउँपालिकाको अध्यक्षका स्वकीय सचिव सुजिल राईले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकामा भौगोलिक विकटता रहेकोले वडागत रुपमा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाइएको छ । सामाजिक सुरक्षा भत्तासँगै ज्येष्ठ नागरिक, अपांगता भएका तथा एकल महिलाहरुको स्वास्थ्य परिक्षणसमेत गरिएको उनले सुनाए ।

भत्ता वितरणको लागि एनआइसी बैंकको प्राविधिक सहयोगमा गाउँपालिकाले आवश्यक सहजीकरण गरेको उनले बताए । सामाजिक सुरक्षा भत्ता वितरणका लागि गाउँपालिका अध्यक्ष थामबहादुर राई वडागत रुपमा पुगेका थिए । 

गाउँपालिका अध्यक्ष राईका अनुसार पालिकाको कर्मचारी, बैंकको कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको व्यवस्था गरी सो शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा सहभागी भएका व्यक्तिकाे प्रेसर, रुघाखोकी तथा सामान्य परिक्षण गरेको उनले जानकारी दिए । स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य चौकीबाट निःशुल्क प्रदान हुने औषधी वितरण गरेको उनको भनाइ छ ।