close

घर खर्च टार्ने मेलाे बन्दै तरकारी खेती

सोसेक नेपालको साथ पाएपछि त झनै काइदा

घर खर्च टार्ने मेलाे बन्दै तरकारी खेती

सोसेक नेपालको साथ पाएपछि त झनै काइदा

Trulli
ADVERTISEMENT

दैलेख - दुल्लु नगरपालिका २ बडापोखराकी नानकला थापाले बारीमा लटरम्म तरकारी फलाएका छिन् । उनले बारीमा  काउली, गोलभेँडा, पालुंगो, खुर्सानी, भन्टा, लगायतका तरकारी फलाउँदै आएका छिन् ।

पहिले आफु व्यवसायिक नहुँदा बुढाकै भर पर्ने उनी अहिले आत्मनिर्भर बन्न सकेकोमा खुसी छिन्  । पहिले सामान्य रुपमा तरकारी खेती गर्दै आएकी उनलाई सोसेक नेपालको साथ पाएपछि व्यवसायिक बन्न सहयोग मिलेको सुनाउँछिन् । 

 उमेरले ४४ वर्ष टेकेकी थापाले सुरुमा खुल्ला रुपमा तरकारी खेती गरेकी थिइन् । तर आजभोलि टनेल लगाएका छिन् । ‘सुरुसुरुमा तरकारी खेती गर्दा प्राबिधिक ज्ञान नभएका कारण पानीले गल्ने, किरा लाग्ने लगायतको समस्या हुन्थ्यो, उनले भनिन्, ‘अहिले सोसेक नेपालले ग्रिन कर्णाली परियोजना लागु भएपछि हामीलाई धेरै सहज भएको छ ।’

समयसमयमा प्राबिधिक आएर हेर्नुका साथै सल्लाह सुझाव समेत दिने उनले सुनाइन् ।

पहिले पहिले तरकारी नभएर बजारको चाउचाउ र स्वाविन किनेर खान्थ्यौँ अहिले आफ्नै बारीको ताजा तरकारी खाने गरेको थापाको भनाइ छ ।  ‘पहिले आफूसँग तरकारी नहुँदा बजारको चाउचाउको तरकारी बनाएर खान्थ्यौँ,’ उनले भनिन्, ‘अहिले आफैँ व्यवसायिक तरकारी खेतीबाट ताजा तरकारी खान पाएका छौँ । जस्ले गर्दा आफूसँगै अरु पनि स्वस्थ बनाउन सकेकोमा गर्व लाग्छ ।’ 

थापाले तरकारी उत्पादन गरेर आफ्नो घरखर्च चलाएर त्यहाँबाट बचेको जम्मा गरेर बचत समेत गर्ने गरेको बताउँछन् ।

‘पहिले श्रीमानले भारतवाट पैसा पठाउँदा कता मास्यौ के गर्यौ भन्नुहुन्थ्यो,’ उनले भनिन् , ‘ आफैँले तरकारी उत्पादन गरेर बेच्दा पकेटमै पैसा हुन्छ । आफूले मन लागेको काम गर्न पाइन्छ । अहिले छोराछोरीलाई पढाउन र घर खर्च चलाएर पैसा बचत हुने गरेको छ । पहिले पैसा नहुँदा बुढासँग हात थाप्नुपर्ने अवस्था थियो । तर अहिले धेरै सहज भएको छ ।’

 व्यवसायिक तरकारी खेती थालेपछि छोराछारीको कापी कलम सकिए तुरुन्त तरकारी बेचेर जोहो गर्न सकिने उनको अनुभव छ । डिसिय नेपालको आर्थिक सहयोग सोसेक नेपालद्धारा दुल्लु नगरपालिकामा संचालित ग्रिन कर्णाली परियोजना लागुपश्चात् उहाँ मात्र नभएर सिंगो गाउँ नै व्यवसायिक तरकारी खेतीमा होमिएको कृषि प्राबिधिक हिक्मेन्द माझीले बताए । ‘पहिले कमैले मात्र व्यवसायिक रुपमा तरकारी खेती गर्नुहुन्थ्यो,’ उनले भने, ‘अहिले यहाँ धेरै जनाले तरकारी खेती गर्नुहुन्छ ।’

सोसेक नेपालका कृषि प्राबिधिक माझीका अनुसार १३ जनाले पक्की टनेल र ३५ वटा कच्ची टनेलमा व्यवसायिक तरकारी खेती गरिरहेको छन् ।