close

मूल्य घटाउँदासमेत छुर्पीले बजार नपाएपछि उद्यमी चिन्तित

मूल्य घटाउँदासमेत छुर्पीले बजार नपाएपछि उद्यमी चिन्तित

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटा नगरपालिका-२ का छुर्पी व्यवसायी केशवबहादुर खत्री पछिल्लो समय छुर्पीको मूल्य खस्किँदा चिन्तित बनेका छन् । राम्रो मूल्य नपाएपछि आफ्नो उद्योगमा उत्पादन भएका छुर्पी, घिउ, नौनी सस्तो मूल्यमा उद्योगबाटै विक्री गर्न बाध्य भएको उनले सुनाए । 

उनका अनुसार राम्रो र सामान्य गरेर दुई किसिमका छुर्पी उत्पादन गरिन्छ । तर छुर्पीको बजारमा माग कम भएकाले पहिलेको तुलनामा सस्तोमा बेच्नु परेको उनले गुनासो गरे । उनले भने, ‘राम्रो छुर्पी एक किलोको १ हजार १५० देखि १ हजार २०० रुपैयाँसम्म र सामान्य छुर्पी ७०० देखि ९०० रुपैयाँमा बिक्री हुन्थ्यो । अहिले राम्रो छुर्पी  एक किलोको हजार रुपैयाँमा पनि बेच्न मुस्किल छ ।’

छुर्पीले बजार नपाएर उद्योगमा नै थन्किनु परेको उनले बताए । उनले पालिकाखबरसँग भने, ‘उद्योगमा नै छुर्पी थन्किएर बसेपछि गत वर्ष नगरपालिका को अनुगमन टोली आएर नौनी, छुर्पी, र पनिर जाँच गराउन लगाए । त्यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा गएर जाँच गराउँदा हाम्रो सामान गुणस्तरयुक्त नै देखियो ।’

यस्तै, वडा नं २ कै अर्का युवा शुक्रबहादुर तामाङले ७ वर्ष यता छुर्पी उद्योग सञ्चालन गर्दै आएका छन् । छुर्पी उद्योगबाटै उनले ३ जनालाई रोजगारी पनि दिँदै आएका छन् ।  आफ्नो उत्पादन युरोप, अमेरिका र क्यानडामा समेत निर्यात गर्दै आएको उनले सुनाए । पहिले बेच्न भ्याइ नभ्याई हुने छुर्पीले अचेल बजार नपाउँदा उनको चिन्ता बढेको छ । 

गाउँघरबाट दुध सङ्कलन गरेर छुर्पी बनाउँदै आएको उनले बताए । दैनिक ८०० लिटरदेखि ८५० लिटर सम्म दूध सङ्कलन गरेर ३२ देखि ३३ केजी नौनी र ३५ देखि ३८ किलो घिउ बनाउँदै आएको उनले बताए । 

उत्पादनले पहिलेजस्तो बजार नपाए पनि मूल्यमा भने समस्या नरहेको उनले सुनाए । उनले भने, ‘राम्रो खालको छुर्पी १२ सय रुपैयाँले विक्री हुन्छ । अरू छुर्पी ८ देखि ९ सय रुपैयाँसम्ममा बेच्दै आएका छौँ ।’ मासिक ९ क्विन्टलदेखि १२ क्विन्टलसम्म छुर्पी उत्पादन गर्दै आएको उनले पालिकाखबरसँग बताए ।

सोही वडाका गोपीलाल तामाङ करिब १० वर्षदेखि छुर्पी व्यवसायमा संलग्न छन् । ६ वर्षयता व्यवसाय दर्ता नै गरेर उद्योग सञ्चालन गर्दै आएको उनी बताउँछन् । 

मासिक ६ क्विन्टलसम्म छुर्पी विक्री गर्दै आएको उनले सुनाए । बजारको माग अनुसारको छुर्पी उत्पादन गर्दै आएको उनले बताए । तर, बजारमा आर्थिक मन्दीका कारण छुर्पीको बजारमा मन्दी आएको उनको अनुमान छ । 

गाउँघरबाट दैनिक ५०० लिटर दुध सङ्कलन गरेर मासिक २० देखि २५ किलोसम्म घिउ र २० देखि २५ किलोसम्म छुर्पी उत्पादन गर्दै आएको उनले बताए । उनले २ जनालाई रोजगार पनि दिँदै आएको बताए । 

धनकुटा नगरपालिकाका वडा नं १ र २ का युवाहरू छुर्पी व्यवसायमा संलग्न छन् ।  ७ वटा छुर्पी उद्योग सञ्चालनमा रहेको नगरपालिकाको पशुपंक्षी शाखा अधिकृत सुमन्ता याङखुङले बताइन् । 

पहिले छुर्पीको बजार रामै भए पनि पछिल्लो समय बजारमा समस्या भएको उनले सुनाइन् । छुर्पीको अन्तर्राष्ट्रिय बजारमा मागमा कमी आएको र दूधको मूल्यमा समेत वृद्धि भएकोले छुर्पी व्यवसायी समस्यामा परेको उनले बताइन् । 

उनको अनुसार उद्योग छुर्पी उत्पादन गर्न योग्य छ की छैन भनेर नगरपालिकाले अनुगमन गरेर मात्र सञ्चालन गर्न दिइएको छ । यस्तै नगरपालिकाले उद्योग सञ्चालकको मागअनुसार अनुदान, तालिम दिने गरेको उनले बताइन् । ‘छुर्पीको बजारीकरणमा भने नगरपालिकाले सहयोग गर्न सकेको छैन । आगामी दिनमा छुर्पी प्रवर्द्धन तथा लागत घटाउने सहयोग गर्ने छ,’ उनले भनिन् । 

नगरपालिकाले छुर्पी उद्योगको सहयोगको लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष २० लाख बजेट विनियोजन गरेको छुर्पी व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याएको पशु विकास शाखा अधिकृत याङखुङले बताइन् ।