close

स्थानीय स्तरमा उत्पादित सामाग्री थाहाको ‘कोसेली घर’मा

स्थानीय स्तरमा उत्पादित सामाग्री थाहाको ‘कोसेली घर’मा

Trulli
ADVERTISEMENT

मकवानपुर– थाहा नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरणको लागि ‘कोसेली घर’ कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छ । नगरपाललिकाभित्रका स्थानीयले उत्पादन गरेका सामाग्रीको बजारीकरणका लागि कार्यविधि नै बनाएको छ । 

नगरपालिकाले  ‘कोसेली घर’ सञ्चालन कार्यविधी बनाएर महिला समूह र महिला सहकारीलाई वार्षिक २ प्रतिशत व्याजमा ऋण दिएर स्थानीय उत्पादन संकलन गर्दै आएको छ । सहकारीले सामग्री संकलन गर्न थालेपछि स्थानीय उत्पादनले बजार पाएको छ । यसबाट स्थानीयको जीवनस्तर सुधार भएको छ भने पर्यटकहरूलाई थाहाको मौलिक चिनो मिलेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले २०७६ देखि ‘कोसेली घर’ सञ्चालनमा ल्याएर स्थानीय स्तरमा उत्पादित बाँसका सामग्री, काष्ठ सामग्री, महिलाहरूले उत्पादन गरेका कुसन, डल, क्रिष्टलका गहना, हातले बुनेका स्विटर, झोलालगायत घरेलु उत्पादित सामग्री तथा विभिन्न खाद्य सामग्रीहरुको बिक्री गरेको हो । 

स्थानीय उत्पादित वस्तुलाई नगरपालिका स्वयंले समेत सहकारीबाट किनेर ‘कोसेली घर’ बाट आन्तरिक तथा वाह्य पर्यटकलाई विक्री गर्दै आएको सामाजिक विकास, उर्जा, वातावरण तथा इक्युपमेन्ट शाखा अधिकृत अनिल लामिछानेले बताए । स्थानीय उत्पादनलाई बढुवा दिने र अर्थसंग जोडेर अगाडि बढ्ने योजनाअनुसार कोसेली घर’ सञ्चालनमा ल्याएको उनको भनाइ छ । 

‘पालिकाका पर्यटकीय स्थल घुम्न आउने पर्यटकले यहाँबाट केही न केही सामान किनेर आफन्तलाई कोसेलीको रुपमा लैजानुहुन्छ । त्यसैले हाम्रो  कोसेली घरको पहिचान हुने गरी सामानमा लेबलिङ गर्न थालेका छौँ,’ उनले बताए । पछिल्लो समय ‘कोसेली घर’मा अल्लोका कपडासमेत बिक्री गर्ने योजना बनाएको र सो सम्बन्धी स्थानीयलाई तालिम प्रदान गरेको उनले बताए । 

‘कोसेली घर’ मा विशेष गरी आर्थिक र सामाजिक रुपमा कमजोर रहेको महिला तथा महिला समुहले उत्पादन गरेका सामाग्रीलाई प्रोत्साहन गरिएको छ । ‘परम्परागत रुपमा गरिरहेको पेशाबाट उत्पादित वस्तुलाई पनि प्राथमिकतामा राखेका छौँ । पानी घट्टबाट पिसाएको मकै, कोदोका पिठो घरेलु उत्पादित विभिन्न खाद्य सामग्री ‘कोसेली घर’ मा राख्ने गरिएको छ,’ उनले भने । कोसेली घर सञ्चालनमा आएपछि स्थानीयलाई विपन्न महिला आर्थिक रुपमा सबल भएको उनले बताए । 

कतिपय स्थानीयलाई घरेलु उत्पादनलाई नगरपालिकाले किनिदिने कुराको जानकारी नरहेको उनले बताए ।  स्थानीय स्तरमा जानकारी दिन टोलविकास संस्थाहरूलाई परिचालन गरी स्थानीय उत्पादनलाई अझै व्यापक बनाउने योजना रहेको उनले सुनाए । विगत २ वर्षदेखि भने नगरपालिका र स्वयस नेपाल संस्थासँग सहकार्य गरेर कोसेली घरलाई थप व्यवस्थित गरिएको शाखा अधिकृत लामिछानेले जानकारी दिए ।