close

संसद विघटनबारे ललितपुरका जनप्रतिनिधिः नेकपाका मौन, कांग्रेस पक्षधर विरोधमा

संसद विघटनबारे ललितपुरका जनप्रतिनिधिः नेकपाका मौन, कांग्रेस पक्षधर विरोधमा

Trulli
ADVERTISEMENT

ललितपुर- सत्तारुढ दल नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा पुग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन भइ मध्यावधि निर्वाचन घोषणा भएपछि स्थानीय तहका जनप्रतिनिधिले मिश्रित प्रतिकृया दिएका छन् ।


ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले प्रधानमन्त्रीको यो कदम १ पुसको शाही ‘कू’ जस्तै भएको प्रतिकृया दिएका छन् ।


पालिकाखबरसँग कुरा गर्दै उनले ५ पुस ५ लाई नेपाली जनताले कालो दिनको रुपमा लिने बताए । ‘हठात रुपमा सरकारले गरेको यो सिफारिस संविधान विपरित र गैरराजनीतिक पनि छ’,  उनले भने । सिंतान नेकपाबाटै निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।


बागमती गाउँपालिकाका प्रमुख वीर बहादुर लोप्चनले पनि ५ वर्षसम्म संसद र सरकार स्थिररुपमा चलाउनका  लागि जनताले म्याण्डेड दिएकोले यस्तो कदम संविधान विपरित भएको बताए । ‘तुरुन्त यो निर्णय फिर्ता लिनुपर्छ, जुन पार्टीले सरकार चलाए पनि जनमतको कदर हुनका लागि ५ वर्षसम्म कसैले पनि हस्तक्षेप गर्न पाउंदैन,’ उनले भने ।


गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले प्रधानमन्त्रीबाट भएको गैरसंवैधानिक कदमले देशप्रतिको घात र जनताको मतको अवमुल्यन भएको बताए ।  साथै उनले भइरहेको विकास निर्माणको कार्यलाई पछि धकेल्ने कुचेष्टा भएको भन्दै यो निर्णयलाई तुरुन्त सच्याउनुपर्ने बताए ।


महाँकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहालले भने यो विषयमा आफ्नो कुनै धारणा नरहेको र यसमा आफु मौन बस्ने बताए । दाहाल तत्कालीन एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।


महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले  पनि यस विषयमा प्रतिकृया दिन मानेका छैनन् ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफू भैरहवाबाट फर्कदै गरेकोले कुनै विषयमा गफ गर्न सक्ने अवस्था नरहेको बताए ।