close

सुवास नेम्बाङले बिर्सिए चुनावी वाचा 

नुनसरी खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

सुवास नेम्बाङले बिर्सिए चुनावी वाचा 

नुनसरी खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

Trulli
ADVERTISEMENT

मोरङ– संघ प्रदेश होस् या स्थानीय तहको चुनाव । जुनसुकै चुनावमा उठ्ने ठूला पार्टीका हुन् या साना । उम्मेदवारले चुनावका बेला आफ्नो ठाउँलाई स्वर्ग बनाइदिने घोषणा गर्छन् । 

 

तर, चुनाव जितेर निर्णय गर्ने तहमा पुगेपछि उनीहरूको नाकमुखै देखिँदैन । जनतासँग गरेका प्रतिबद्धता अर्को चुनावममा पनि दोहोरिन्छन् । 

 

अझ ठूला पदमा पुगेका नेता तथा सांसदको क्षेत्रमा खोलामा पुल नबन्दा कष्टकर जीवन जिउन बाध्य छन्, नागरिक । यस्तै, दुःखकष्ट भोगिरहेका छन्, सविधानसभाका पूर्वअध्यक्ष तथा नेकपा एमाले नेता सुवास नेम्बाङको निर्वाचन क्षेत्रका जनताले । खोलामा पुल नबन्दा उनीहरू समस्यामा छन् । 


इलामको चुलाचुली र मोरङको मिक्लाजुङ गाउँपालिको सीमामा रहेको नुनसरी खोलामा पुल नबन्दा दैनिक सास्ती खेप्नु परेको स्थानीय बताउँछन् । उक्त खोलाले इलाम र मोरङलाई छुट्याउँछ ।

 

मोरङको क्षेत्र नम्बर १ र इलामको क्षेत्र नम्बर २ मा पर्छ, यो ठाउँ । मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद घनश्याम खतिवडा हुन् भने इलाम क्षेत्र नम्बर २ का सुवास नेम्बाङ । 


चुनावताका नुनसरी खोलामा पक्की पुल बनाइदिने नेम्बाङको घोषणा अहिलेसम्म कार्यान्वयनमा गएन । स्थानीयलाई आउजाउ गर्न एउटा झोलुंगे पुल निर्माण गरीएको छ ।

 

अहिले सोही झोलुंगेबाट मोटरसाइकलमा खाद्यान्न ओसार्ने गरिन्छ । कृषकको उत्पादनसमेत बजार पु¥याउन समस्या हुने गरेको स्थानीयको गुनासो छ ।

 

‘बर्खाको समय खोला बढेपछि खाद्यान्नसमेत अभाव हुने गरेको छ । खाद्यान्न पनि बाइकबाटै बोकेर खानुपर्छ’, स्थानीय इन्दिरा कटवालले भनिन्, ‘हामीले उत्पादन गरेका कृषिजन्य वस्तु बजार पुर्‍याउनै समस्या छ ।’ 

 

मोरङ सुगम जिल्लाको रूपमा चिनिन्छ । प्रदेशको राजधानी भएको तथा २ पटक संविधानसभा अध्यक्ष भएको जिल्लाको अवस्था भने दयनीय छ । हिउँदमा झोलुंगे पुलको मुनाबाट ठूला सवारीसाधन वारपार गरे पनि बर्खामा भने सवारीका साथ वारिबाट पारि जान सक्दैनन् ।

 

चारैतर्फ पहाड, मनोरम झर्ना र राजारानीका मूर्ति, बुद्धटार यहाँका विशेषता हुन् । माओवादीको १० वर्षे युद्धका बेला २०५८ मा राजा वीरेन्द्रको वंश विनास भएसँगै कुइनेटारमा राजारानीको प्रतिमा फेला परेको जनविश्वास छ ।

 

सीमा जोडिएका मोरङको मिक्लाजुङका अध्यक्ष देवीप्रसाद आचार्यले खोलाको तल्लो क्षेत्रमा एउटा पुल रहेको र अर्को नजिकैको खोलामा निर्माण हुँदै गरेको बताए ।