close

अविश्वासको प्रस्तावमा सही धस्काउने सांसदले खाए मन्त्रीको सपथ

अविश्वासको प्रस्तावमा सही धस्काउने सांसदले खाए मन्त्रीको सपथ

Trulli
ADVERTISEMENT

मोरङ– प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासी र मुख्यमन्त्री शेरधन राईले सपथ गराए ।

 

नेकपा माओवादीबाट चुनाव जित्नेदेखि आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माण विरोधीको आरोप लागेकाहरू पनि मन्त्री भए । माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश सांसद टंक आङबोहाङले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । केही दिनअघि मात्रै उनी एमाले पसेका थिए ।

 

पूर्वअर्थमन्त्री इन्द्रबहादुर आङवोलाई टक्कर दिन मुख्यमन्त्री राईले उनलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री निकट स्रोतले बतायो । यस्तै, आफ्नै निर्वाचन क्षेत्रमा विकास निर्माण रोक्न भूमिका खेलेको आरोप लागेका प्रदेश सांसद राजकुमार ओझा पनि मन्त्री बनेका छन् । ओझा वन राज्यमन्त्री भएका हुन् ।

 

नेता माधव नेपाल निकट ओझाले वर्षौंदेखि अलपत्र भाउन्ने–आमतोला तथा बेलबारी–फडनी सडक कालोपत्रे हुन नहुने भन्दै मुख्यमन्त्रीलाई निवेदनै दिएका थिए । उनले मोरङ क्षेत्र नम्बर ३ (ख) बाट चुनाव जितेका हुन् ।

 

उषाकला राईले सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाएकी छन् । उनले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन् । राईले प्रस्ताव फिर्ता भने लिएकी छैनन् ।अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री भएका छन् । दुवै जना यसअघि राज्यमन्त्री थिए । उदयपुरकी कला घले कृषि राज्यमन्त्री बनेकी छन् । 

 

सथप कार्यक्रममा प्रदेश सभामुख प्रदीप भण्डारी, उपसभामुख सरस्वति पोख्रेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत उपस्थित थिए । तर, प्रदेशकै प्रभाशाली मानिने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्की भने सहभागी भएनन् ।

 

मन्त्री कार्कीको सचिवालयले भने बिरामी भएका कारण आउन नसकेको बताएको छ । एमाले नेता माधव नेपाल पक्षधर सांसदहरूले भने सल्लाहबिनै मन्त्रिमण्ड विस्तार गरेको आरोप लगाएका छन् । तर, मुख्यमन्त्री राईले सबैको सल्लाहअनुसारै मन्त्री थपघट गरिएको दाबी गरे । मन्त्रिमण्डल विस्तारसँगै प्रदेश १ मा मन्त्रीको संख्या ९ पुगेको छ ।