close

कांग्रेसका साढे तीन हजार प्रतिनिधि छानिए

कांग्रेसका साढे तीन हजार प्रतिनिधि छानिए

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए ।

 

कांग्रेसको विधानअनुसार, हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । सचिव श्रेष्ठले अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको जानकारी दिनुभयो । ती क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिमा २६ जनाको दरले ७८० जना महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छ ।

 


महाधिवेशनमा यस पटक १६५ वटा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले चार हजार २९० जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । हालका केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान छ । महाधिवेशन प्रतिनिधिले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने प्रावधान विधानमा छ । यस अतिरिक्त पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट पनि महाधिवेशनमा प्रतिनिधित्व हुने व्यवस्था छ ।

 

केन्द्रीय निर्वाचन समितिका अनुसार, बर्दिया, बाँके, सप्तरी, सिरहामा बिहीबार क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ । सिन्धुपाल्चोक, धनुषा र महोत्तरीमा प्रदेश अधिवेशन प्रक्रिया सुरु गरिएको छ । रसुवा, दार्चुला, धनकुटामा अधिवेशन प्रक्रिया सुरु गरिएको छ ।

 

सर्लाहीमा महाधिवेशन प्रक्रिया अघि बढाउन पार्टीले बुधबार मात्रै निर्वाचन अधिकृत खटाएको छ । ढिलामा मङ्सिर १० गतेसम्म क्षेत्रीय अधिवेशन सक्न केन्द्रले निर्देश गरेको छ । पार्टीले आगामी मङ्सिर १६ र १७ गते सातवटै निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन राखेकाले त्यसअघि अधिवेशन नगर्ने जिल्लाले प्रदेश अधिवेशनमा सहभागिता जनाउन सक्ने छैनन् ।