काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
माओवादी केन्द्र र कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन सोमबार मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन् ।
२ वैशाखमा कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो । बढीमा १५ कात्तिकसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो ।
आइतबार सत्ता हस्तान्तरणका विषयमा माओवादी र कांग्रेसबीच छलफल भएको थियो । कांग्रेस कर्णाली प्रदेशसभा दलले सहमति कार्यान्वयन नगरे अर्को विकल्पमा जाने योजना चेतावनीसमेत दिएको थियो ।
सहमतिअनुसार सोमबार ४ बजेसम्म मुख्यमन्त्री शाहीले राजीनामा दिइसक्नुपर्ने थियो । मुख्यमन्त्री शाहीको राजीनामा घोषणासँगै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन् ।