काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारीका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यमा उम्मेदवारी दिने क्रम बढेको छ । महाधिवेशनमा हालसम्म प्रधानमन्त्री शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ, युवराज न्यौपाने (गोरखा) ले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिएपछि उनको स्थानमा शेखर कोइरालालाई अगाडि सारिएको छ । कांग्रेसमा संस्थापन समूह देउवा र वरिष्ठ नेता पौडेल समर्थकले उम्मेदवारी दर्ता गराएका छन् भने अन्य समूहले पनि उम्मेदवारी दर्ता गराउने क्रम जारी छ ।
महाधिवेशनको दोस्रो दिन शनिबार बेलुकी ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । २ बजेसम्म सभापति, उपसभापति, सहमहामन्त्रीलगायत पदमा उम्मेदवारी दर्ता भएका छन् । केहीको घोषणा हुने क्रम जारी छ ।
केही नेताले देउवा–पौडेल प्यानलबिनै उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा कल्याण गुरुङ, उपसभापतिमा महेश आचार्य, सह–महामन्त्रीमा बद्री पाण्डे (पिछडिएको क्षेत्र), फरमुल्लाह मन्सुर (मुस्लिम), सुरेश चौधरी (थारु), मानबहादुर विश्वकर्माले दलितबाट उम्मेदवारी दर्ता गराएका छन् ।
अहिलेसम्म १०० केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता भइसकेको कांग्रेस निर्वाचन आयोगले बताएको छ । कांग्रेस विधानमा केन्द्रीय सदस्य १३४ जना निर्वाचित हुने व्यवस्था छ ।
यसअघि शनिबार दिउँसो १ बजे गणेशमान पुत्र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरे । सिंह कांग्रेसका पूर्वमहामन्त्रीसमेत हुन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डप पुगेका थिए ।
संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै, कांग्रेस नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन् । आचार्य पार्टी केन्द्रीय सदस्य हुन् । कांग्रेस सभापति पदमा गोरखाका युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपाने गोरखा निर्वाचन क्षेत्र १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । यस्तै, केन्द्रीय सदस्यमा वीरगञ्ज महानगरकी उपप्रमुख शान्ति कार्कीले उम्मेदवारी दिएकी छन् । ९१ वर्षीय कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् ।
यस्तै, पौडेल समूहबाट उपसभापतिका आकांक्षी ३ नेताले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । पौडेल समूहका प्रभावशाली नेता अर्जुननरसिंह केसी, डा. रामशरण महत र बलबहादुर केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । उपसभापति पदको आकांक्षी रहेका उनीहरूले अन्तिममा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
पौडेल समूहबाट शेखर कोइराला आधिकारिक उम्मेदवार बनेका छन् भने उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी उम्मेदवार बनेका छन् । यसअघि यो समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा उठाउने भने पनि अन्तिम समय शर्मा अटाएनन् । यस्तै, नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । पार्टी केन्द्रीय सदस्य गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । सह–महामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए ।
वरिष्ठ नेता पौडेलको समर्थनमा शेखर कोइरालाको कोटरी तयार भएको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टिम बनाएका हुन् । महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिएका छन् । सह–महामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
टुट्यो कोइराला क्याम्प
कांग्रेसभित्र बीपी र गिरिजाप्रसाद कोइरालाको लिगेसी बोक्ने नेताहरूमा तीन जनाको नाम लिइने गरेको छ । शशांक, शेखर र सुजाता कोइराला । तर, शनिबार बिहान सुजाताले प्रकाशनमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेसँगै कोइराला परिवारका तीन नेताको सहकार्य टुटेको छ । शनिबार उम्मेदवारी दिन जाँदै गर्दा सुजाताले प्रकाशमानजीलाई समर्थन जनाएँ । म उहाँको टिमबाट उपसभापतिमा चुनाव लड्दै छु भनिन् । प्रकाशमान पार्टीका लागि उपयुक्त उम्मेदवार भएकाले उनैलाई रोजेको सुजाताको भनाइ छ । पार्टीमा नयाँ अनुहार ल्याइनुपर्ने उनले बताइन् ।
कोइराला परिवारबाट यसअघि डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला तीनै जनाले सभापतिमा दाबी गर्दै आएका थिए । यसक्रममा तीनै जनाले डिनर बैठक गरेका तस्बिर सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित/प्रकाशित भएका थिए
प्रदेश २ बाट मात्रै सभापतिसहित ४० बढी उम्मेदवार
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश २ बाट केन्द्रीय सभापतिसहित विभिन्न पदमा हालसम्म ४० बढी आकांक्षी देखिएका छन् । त्यसमध्ये कतिपयले प्रचार सुरु गरिसकेका छन् भने कतिपयको प्यानल कन्फर्म नभएका कारण नाम बाहिर ल्याइएको छैन ।
विमलेन्द्र निधिले यसअघि नै सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले प्रचार–प्रसार पनि तीव्र तुल्याएका छन् । यद्यपि उनले अझै उम्मेदवारी दर्ता गराएका छैनन् ।
कांग्रेस सप्तरी सभापति दिनेश यादवका अनुसार अहिलेसम्म सप्तरीबाट विभिन्न पदमा ६ जना बढी उम्मेदवार देखिएका छन् । तेजुलाल चौधरी, जितेन्द्र देव, डा.सुबोध पोखरेल, डा.सुरेश चालिसे, सकलदेव सुतियार, उमेशकुमार बस्नेतले उम्मेदवारी दिने बताएका छन् ।
सिरहाबाट डा.सुभाष यादवले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै, पदनारायण चौधरीले जनजातिबाट सहमहामन्त्रीमा उम्मेदवारी दिँदै छन् । तर, अझै प्यानलमा कुरा नमिलेका कारण उनले उम्मेदवारी घोषणा भएको छैन ।
मोख्तार अहमदले मुस्लिम कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन् भने चित्रलेखा यादव उपसभापतिका लागि आकांक्षी देखिएकी छन् । मञ्जु खाँ र रेखा यादव पनि केन्द्रीय सदस्यका उम्मेदवार हुन् ।
धनुषाबाट विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । महेन्द्र यादव र चन्द्रमोहन यादवले सह–महामन्त्रीमा उम्मेदवारी दिने जनाएका छन् ।
त्यस्तै, केन्द्रीय सदस्यमा प्रेमकिशोर साह, आनन्द ढुंगाना, रामकृष्ण यादव, सरस्वती चौधरी, मीनाक्षी झाले पनि उम्मेदवारी दिने तय भएको धनुषाका पार्टी सभापति महेश शंकर गिरीले बताए ।
रौतहटबाट हालसम्म मिथिलेशकुमार मिश्र, रमेश खरेल र सूर्यबहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताइएको छ । यद्यपि अहिलेसम्म घोषणा भने भइसकेको छैन ।
सबैभन्दा बढी आकांक्षी पर्सामा देखिएका छन् । पर्सा जिल्ला सभापति अजय द्विवेदीका अनुसार अजय चौरसिया र सुरेन्द्र चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । रमेश रिजाल, अजय द्विवेदी, राकेश सिंह, शान्ति कार्की, शम्भु पासवानले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन् ।
बाराबाट फरमुला मन्सुर मुस्लिम कोटाबाट सहमहामन्त्री र कलावती पासवान दलित कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । महोत्तरीका पार्टी सभापति महेन्द्र यादवका अनुसार माथि शीर्ष नेताहरूबीच कुरा नमिलेको कारण तलका नेताहरू खुलेका छैनन् । भित्रभित्रै धेरैले उम्मेदवारी दिने तयारी गरे पनि प्यानलमा कुरा नमिलेपछि खुलेका छैनन् ।
अहिलेसम्म महोत्तरीबाट केन्द्रीय सदस्यमा महेन्द्र यादव, संगीता मण्डल, नगिना यादवको नाम बाहिर आएको छ । महोत्तरीको क्षेत्र ३ मा विवादका कारण अधिवेशन हुन सकेको छैन । विवादका कारण प्रदेशको अधिवेशन पनि स्थगित गरिएको छ ।
सर्लाहीबाट हालसम्म तीन जना उम्मेदवारको नाम सार्वजनिक भएको छ छ । मधेसी कोटाबाट केन्द्रीय सदस्यमा जंगीलाल राय, खस कोटाबाट केन्द्रीय सदस्यमा दीपक अधिकारी र जनजाति कोटाबाट केन्द्रीय सदस्यमा शम्भु श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि ४ हजार ७४३ मध्ये ८०९ जना केन्द्रीय प्रतिनिधि प्रदेश २ मै छन् ।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझका लागि शनिबार नै बेलुकी ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोधउपर निर्णय हुनेछ ।
शनिबार राती १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले आइतबार बिहान ११ः०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२ः१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम निर्वाचन समितिले सार्वजनिक गरेको छ । कांग्रेसमा विभिन्न कलस्टरअनुसार कार्यसमितिको चुनाव हुँदै छ । पदाधिकारीका लागिसमेत कलस्टर छुट्याइएको छ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।