close

नगर अधिवेशनको चार महिनासम्म टुंगो लागेन एमाले गोदावरी नगर अध्यक्ष

नगर अधिवेशनको चार महिनासम्म टुंगो लागेन एमाले गोदावरी नगर अध्यक्ष

Trulli
ADVERTISEMENT

कैलाली– नेकपा एमालेले गोदावरी नगर अधिवेशन उद्घाटन गरेको ४ महिना पुगिसकेको छ । १५ कात्तिकमा एमालेले नगर अधिवेशन उद्घाटन गरेको थियो । तर, हालसम्म नेतृत्वका लागि सहमति नहुँदा नगर अध्यक्ष चुन्न सकेको छैन । गोदावरी नगरपालिकाको नयाँ नेतृत्व चयनका लागि पहिलो नगर अधिवेशन उद्घाटन गरिए पनि त्यसको ४ महिला बितिसक्दासम्म नगर कमिटीको टुंगो लाग्न सकेको छैन ।

 


नगर कमिटी अध्यक्षका लागि वर्तमान अध्यक्ष गोकर्ण भट्ट र सचिव आनन्द भट्टले दाबी गरेका थिए । तर, दुवैबीच सहमति हुन नसक्दा लामो समय बितिसक्दा पनि अध्यक्षको टुंगो लाग्न नसकेको हो । अध्यक्ष भट्ट पूर्वमाओवादी खेमाका हुन् भने सचिव भट्ट पूर्वएमाले खेमाका हुन् ।

 


नेकपा विभाजन हुनुपूर्व गोकर्ण भट्ट अध्यक्ष र आनन्द भट्ट सचिव थिए । पछि नेकपा विभाजन भएपछि पूर्वमाओवादी खेमाका गोकर्ण भट्ट लेखराज भट्टसँगै एमालेमै रहे । सोही कारण तत्काल एमाले गोदावरी नगरको अध्यक्षमा गोकर्ण भट्टले नै निरन्तरता पाएका थिए । नेकपा विभाजन भएपछि गोदावरीमा एमालेभित्र पूर्वमाओवादी खेमाको बलियो उपस्थिति छ ।


केन्द्रमा लेखराज भट्ट पार्टीको १०औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएपछि उनकै गृहनगरमा भने पूर्वमाओवादी र पूर्वएमाले खेमा विभाजन हुँदा त्यसको असर नगर कमिटी चयनमा परेको हो । हालै सम्मन्न कैलाली जिल्ला अधिवेशनमा पनि दुई खेमा विभाजन भएर चुनावमा गएपछि त्यसले झन् दुरी बढाएको छ । त्यसले पनि गोदावरीको नगर कमिटी चयन गर्न झनै सकस परेको छ ।


नगर सचिव भट्ट अध्यक्षमा विवाद नभएर प्राविधिक कारणले ढिलाइ भएको बताउँछन् । नगर अधिवेशनपछि केन्द्रीय अधिवेशन र त्यसपछि जिल्ला अधिवेशन गर्नुपर्ने भएकाले ढिलाइ भएको उनको भनाइ छ । अब २० माघभित्रै नगर कमिटी चुन्ने गरी तयारी थालिएको उनले जानकारी दिए ।

 


नगर अध्यक्षका लागि २ जना मात्रै नभएर अरू पनि योग्य व्यक्ति भएकाले छलफलबाट नेतृत्व चयन गरिने उनको भनाइ छ । सचिव भट्टले छलफलबाट अध्यक्ष टुंग्याउने भने पनि बिहीबार गोकर्ण भट्टको अध्यक्षतामा एमाले गोदावरीको नगर कमिटी चयन गर्न माग गर्दै एमालेका ११ वडाध्यक्षले जिल्ला अध्यक्ष रतन थापालाई ज्ञापनपत्र बुझाएका छन् ।


उनीहरूले नगर कमिटी अध्यक्ष नतोकिँदा नगरमा पार्टीका काम प्रभावित भएको भन्दै छिटोभन्दा छिटो गोकर्ण भट्टलाई नै अध्यक्ष बनाउन माग गरेका छन् । ज्ञापनपत्रमा एमाले गोदावरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्बर साउद, ३ का अध्यक्ष वीरेन्द्र अवस्थी, ४ का अध्यक्ष रवीन्द्र रोकामगर, ५ का अध्यक्ष सुहिराम चौधरी, ६ का अध्यक्ष सन्तोष सिंह, ७ का अध्यक्ष कलावती साउद, ८ का अध्यक्ष गोविन्द चौधरी, ९ का अध्यक्ष सर्जन ठकुल्ला, १० का अध्यक्ष झंकर कोली, ११ का अध्यक्ष लोकबहादुर कोली र १२ का अध्यक्ष नन्द विकले हस्ताक्षर गरेका छन् । विवादकै बीच वडाअध्यक्षले नै एक जनालाई अध्यक्ष बनाउन माग गर्दै ज्ञापन बुझाएपछि पार्टीमा झन् किचलो थपिएको छ ।

 

वडामा पनि किचलो
गोदावरीका ११ वडामा कात्तिकमै वडा अधिवेशन सम्पन भए पनि वडा नम्बर १ मा हालसम्म विवाद टुंगिन सकेको छैन । वडामा अध्यक्षका लागि गणेश महरा र महावीर विकले आ–आफ्नो दाबी छाडेका छैनन् ।


वडा नम्बर १ मा यसअघि एकपक्षीय भेलाबाट २२ कात्तिकमा गणेश महराको अध्यक्षतामा वडा कमिटी चयन गरिएको थियो । पछि विवाद आएपछि उक्त भेलाको निर्णय पनि कार्यान्वयनमा आउन सकेको छैन ।