close

कहिले हुन्छ नेपाली कांग्रेसका भ्रातृ सङ्गठनको महाधिवेशन ? 

कहिले हुन्छ नेपाली कांग्रेसका भ्रातृ सङ्गठनको महाधिवेशन ? 

Trulli
ADVERTISEMENT

काठमाडौँ–  नेपाली कांग्रेसको भ्रातृ सङ्गठन आदिवासी जनजाति सङ्घ तदर्थ समितिका सभापति इन्द्रबहादुर गुरुङले पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाएका छन् । माघ ११ गते राजीनामा पत्र बुझाएको गुरुङले सङ्घको महाधिवेशन गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाए ।

 

झन्डै १४ वर्षदेखि सङ्घको तदर्थ समितिको नेतृत्व गरेका गुरुङले भने, ‘सङ्घीय संरचनाअनुसार विधान संशोधन गर्नपर्ने थियो तर २०७४ देखि अहिलेसम्म विधान संशोधन भएन । त्यसैले तदर्थ समितिमा बसिरहन उचित लागेन र राजीनामा दिएको हुँ ।’

 

सङ्घ मात्रै होइन, नेपाली कांग्रेसको १३औँ महाधिवेशनकै बेला पदावधि सकिए पनि सबैजसो भ्रातृ सङ्गठको महाधिवेशन हुन नसक्दा साङ्गठानिक संरचना अस्तव्यस्त छ । तदर्थ समितिको नेतृत्व गरिरहेका नेताहरू जिम्मेवारी हस्तान्तरण गर्न उत्तिकै रूपमा व्यग्र प्रतीक्षामा छन् ।

 

कांग्रेसको नेतृत्व उत्पादन गर्ने प्रभावशाली सङ्गठन नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलसहितका १३ भ्रातृ संस्थाको महाधिवेशन नहुँदा कार्यकर्तामा अन्योल छ । नेपाल महिला सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल मुस्लिम सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल राष्ट्रिय मगर सङ्घ र नेपाल ठाकुर समाजको महाधिवेशन हुन सकेको छैन । यस्तैमा केही भ्रातृ सङ्गठनका अध्यक्षहरू १४औँ महाधिवेशनबाट काँग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएपछि ती सङ्गठनको नेतृत्व नै रिक्त भएको छ । नेपाली काँग्रेस विधानअनुसार पार्टीको माथिल्लो पदमा निर्वाचित भएमा वा मनोनीत भएमा भ्रातृ सङ्गठनको जिम्मेवारीबाट स्वतः मुक्त हुन्छ ।

 

नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएकी छिन् । त्यसअघि नै महासचिव मञ्जु खाण केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । त्यस्तै नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, नेपाल मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सतार पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

 

नेपाल दलित सङ्घ तदर्थ समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ । संयोजक मीनबहादुर विश्वकर्मा (मनोनीत), तदर्थ समिति महासचिव लक्ष्मी परियार र कोषाध्यक्ष हरिशरण नेपाली काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

 

महाधिवेशनको निर्णय चाँडै

 

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनका क्रममा पार्टीभित्र सहमति गरी सबै भ्रातृ सङ्गठनको महाधिवेशन गर्ने उद्घोष गर्नुभएको थियो तर पार्टीभित्र सहमति नजुट्दा महाधिवेशन हुन सकेको छैन । महामन्त्री गगनकुमार थापाले भ्रातृ संस्थाहरूलाई एकमुष्ट महाधिवेशन गर्ने गरी पार्टी पदाधिकारीहरूबीच छलफल भइरहेको बताए । उनले केही भ्रातृ संस्थाका प्रमुख पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचित भएकाले ती भ्रातृ सङ्गठनको महाधिवेशन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।

 

महाधिवेशनका लागि तयार छौँ

 

कांग्रेस केन्द्रीय सदस्य एवं दलित सङ्घ महाधिवेशन आयोजक समितिका संयोजक मीनबहादुर विश्वकर्माले पार्टीभित्र आन्तरिक सहमति जुट्न नसक्दा महाधिवेशन नहुन नसकेको बताए ।

 

पार्टीको १४औँ महाधिवेशन नभएसम्म भ्रातृ संस्थाको महाधिवेशन गर्न नसकिने भएकाले सभापति देउवाले सबै भ्रातृ संस्थाको पदावधि थप्नुभएको विश्वकर्माले बताए । उनले भने, ‘सभापतिलाई भेटेर मैले पनि आग्रह गरेको छु, विधान र संविधानअनुसार भ्रातृ संस्थाको महाधिवेशन गर्न उहाँले पनि तदारुकता दिनुभएको महसुस गरेको छु ।’

 

निर्देशनको पर्खाइ

 

कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल महिला सङ्घ अध्यक्ष उमा रेग्मीले पार्टीको निर्देशन अनुसार आफू अघि बढ्ने बताइन् । उनले भनिन्, ‘पार्टी केन्द्रीय सदस्य निर्वाचित भएपछि केही भ्रातृ संस्थाका अध्यक्षले सभापतिलाई भेट्नुभएको रहेछ । सभापतिले केही समय काम गर्दै गर्नुहोस् भन्नुभएको रहेछ । चाँडै महाधिवेशन हुन्छ भन्नेमा आशावादी छु ।’

 

त्यसैगरी प्रजातन्त्र सेनानी सङ्घ तदर्थ समितिका सभापति टङ्कप्रसाद शर्मा कँडेल र नेपाल तामाङ सङ्घका अध्यक्ष कवेलबहादुर तामाङले पनि आफ्नो नेतृत्वमा रहेको भ्रातृ सङ्गठनको महाधिवेशन गर्न तयार रहेको बताए ।