close

आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोगले गरायो सचेत

आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोगले गरायो सचेत

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तहको चुनावका लागि लागू गरिएको आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दललाई निर्वाचन आयोगले सचेत गराउने जनाएको छ । 

 

आयोगले आचारसंहिता उल्लङ्घन गरेकोमा तीन दलसहित नेताहरू र गण्डकी प्रदेश सभामुखलाई सचेत गराउने भएको हो । आयोगले आचारसंहिता प्रतिकूल हुने काम नगर्न ती दलहरूलाई सचेत गराउने निर्णय गरेको छ।

 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलले गएको चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा गरेको सभामा आचारसंहिता प्रतिकूल दलको झन्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गरी आचारसंहिताविपरीत काम भएको ठहरसमेत गरेको छ ।

 

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि आचारसंहिता उल्लङ्न गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको छ । माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोस्टर तयार गरी, प्रचारप्रसार गरिएको बारेमा आयोगले छानबिन गरेको थियो।

 

आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ । राप्रपाले चैत २७ गते हेटौँडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको आयोगको ठहर छ ।

 

साथै, नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालालाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सजग गराएको छ ।

 

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारले पच्चीस लाख रुपैयाँसम्म खर्च गर्न सक्ने भए पनि प्रतिनिधि सभा सदस्य नवलपरासी (बर्दघाट सुस्तापूर्व) निर्वाचन क्षेत्र १ बाट निर्वाचित कांग्रेसका उम्मेदवार शशाङ्क कोइरालाले पेस गरेको खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ आयोगमा रहेको अभिलेखबाट देखिएको तर कोइरालाले आफूले ६ करोड खर्च गरेको अभिव्यक्ति दिनुभएको थियो ।

 

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराउने भएको छ ।  उनले पनि निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको र खर्चको गलत विवरण बुझाएको अभिव्यक्ति दिएका आयोगले जनाएको छ ।