close

पाँच दलीय गठबन्धन  धरापमा

सुन्दरहरैंचामा दुई दल बिच मात्रै गठबन्धन

पाँच दलीय गठबन्धन  धरापमा

सुन्दरहरैंचामा दुई दल बिच मात्रै गठबन्धन

Trulli
ADVERTISEMENT

मोरङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कारण धरापमा परेको छ ।

 

पूर्वनिर्धारित सहमति अनुसार देशभर गठबन्धन गर्ने सहमति भएपनि विभिन्न पालिकामा गठबन्धनमा संकट देखा पर्न थालेको छ । यस्तै कारणले मोरङको सुन्दरहरैंचा नगरपालिकामा समेत नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच मात्रै गठबन्धन हुने भएको छ । 

 

उम्मेदवारी फिर्ता लिने अन्तिम गठबन्धनमा रहेका दलहरू बिच कुरा नमिल्दा कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता लिएनन् । जसले गर्दा अब गठबन्धनमा रहेका दलहरू बिच नै प्रतिस्पर्धा हुने भएको छ । 

 

नेपाली काँग्रेसमा उम्मेदवार छनोटदेखि नै व्याप्त विवाद अझै टुंगिएको छैन । गठबन्धनको विषयमा प्रस्ट धारणा राख्न नेपाली काँग्रेसको सचिवालयमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दा काँग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला नै अनुपस्थित रहे । अस्वस्थताको बहानामा उनले केही दिन अघि नै उपसभापति शिवनारायण चौधरीलाई कार्यवाहक दिएका छन् । 

 

नगर सभापतिले यसअघि मेयरमा आफ्नो र उपमेयरमा कविता न्यौपानेको एकल नाम सिफारिस गरेका थिए । तर, पार्टीभित्रै त्यसको व्यापक विरोध भएपछि केन्द्रले वर्तमान मेयर शिवप्रसाद ढकाललाई नै मेयर र ईश्वरवती माझीलाई उपमेयरको टिकट दिएको थियो । 

 

वैशाख १२ गते २ बजेतिर उम्मेदवारको टुङ्गो लागेको ३ घण्टाभित्रै मनोनयन पत्र दर्ता गर्ने क्रममा माझीको टिकट खोसेर नेकपा माओवादी केन्द्रसँग नेपाली काँग्रेसले गठबन्धन गरेको थियो । 

 

पार्टीको केन्द्रीय नीतिअनुसार नै सुन्दरहरैंचामा गठबन्धन गरिएको माओवादी केन्द्रका नेता गोपी अछामीले बताए । वडा तहमा अझै गठबन्धनको पक्षमा सत्तारुढ सबै दल रहेका हुनाले एकीकृत समाजवादीलगायतका दलसँग गठबन्धन हुन सक्ने सम्भावना जीवितै रहेको उनले बताए । 

 

उता नेपाली काँग्रेसका जिल्ला सचिव ललित श्रेष्ठ पार्टीको केन्द्रीय समितिको निर्देशन तथा प्रदेश, जिल्ला र नगर समितिको निर्णयअनुसार गठबन्धन गरिएको बताउँछन् । आवश्यकताका आधारमा गठबन्धन हुने दाबी गदै उनले आवश्यक परे अझै पनि एकीकृत समाजवादीलगायतका सत्तारुढ दल पनि गठबन्धनमा जोडिने बताए ।  

 

नेपाली काँग्रेसका नेता रमेशजंग रायमाझी भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधानको मर्म विपरीत चलेकाले गठबन्धन गर्नुपरेको बताउँछन् । प्रधानमन्त्री भएपछि कसैको कुरा नसुन्ने प्रवृत्ति ओलीमा देखिएकाले त्यसको विरोधमा गठबन्धन गरिएको र पछिसम्म यो गठबन्धन कायमै रहने उनको दाबी छ । 

 

उनी सुन्दरहरैंचामा एमालेका कुनै पनि उम्मेदवारले नजित्नै दाबी समेत गर्छन् । एमालेले जित्ने सम्भावना रहेको वडामा गठबन्धनमा रहेको बलियो दललाई सघाउने नीति छ,’ उनले बताए । 

 

उपमेयर पदमा नेपाली काँग्रेसले गठबन्धनले निरन्तरता पाएको खण्डमा फिर्ता लिने सर्तमा ईशवरवती माझीलाई उपमेयरको टिकट दिइएको उनको भनाइ छ । 

 

नेपाली काँग्रेसका नेता तथा प्रदेश सांसद लोकप्रसाद संग्रौलाका अनुसार काँग्रेस र माओवादी केन्द्रले संयुक्त रूपमा आइतबारदेखि घरदैलो कार्यक्रम सुरु गरेका छन् ।  

 

गठबन्धनका नाममा आफूहरूको अपमान गरिएको आरोप नेकपा एकीकृत समाजवादीको छ । त्यही कारण सो दल गठबन्धनबाट अलग्गिएको छ ।