close

आचारसंहिता उल्लंघन गर्ने तिलोत्तमाका मेयरले दिए आयोगलाई कारबाही गर्न चुनौती

आचारसंहिता उल्लंघन गर्ने तिलोत्तमाका मेयरले दिए आयोगलाई कारबाही गर्न चुनौती

Trulli
ADVERTISEMENT

रुपन्देही । निर्वाचन आचारसंहिताविपरीत पदमा रहेरै निर्वाचन प्रचारप्रसारमा जुटेका रुपन्देही तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफूलाई कारबाही गर्न  निर्वाचन आयोगलाई खुुला चुनौती दिएका छन् । 

 

दिनहुँ एमाले उम्मेदवार मोहन चापागाईं र जागेश्वरीदेवी चौधरीको प्रचारमा खटिएका उनले एमाले निर्वाचन प्रचारप्रसार कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले आचारसंहिता उल्लंघन गरेवापत् कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिएका हुन् । 

 

उनले भने, ‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ ।’

 

उनी तिलोत्तमाको नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजक  बनी प्रचारप्रसारमा जुटेका छन् । 

 

तिलोत्तमामा एमालेका प्रमुख उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको उनले बताए । 

 

उनले भने, ‘म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटीमा छु, कसैले यसले आचारसंहिता उल्लंघन ग¥यो भन्ने लाग्छ भने कारबाही गर्नूस् ।’

 

उनले अहिले पनि आफू नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्नेगरी जुनसुकै योजना ल्याउन सक्ने बताए । 

 

‘मैले अहिले बजेट खर्च हुने काम नगराैँला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?’ 

 

उनले पत्रकार सम्मेलनमा आफूले गरेका राम्रा कामको प्रचार नगरिदिएर आलोचना गरेको भन्दै सञ्चारकर्मीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । 

 

उनले भने–‘तपाईंहरूले विपक्षीहरूको कुरा सुन्नुभएको छ, अझै पनि म नै नगरप्रमुख हुँ, म जे पनि निर्णय गर्नसक्ने अधिकार राख्छु, मेरा कामका बारेमा लेखिदिनुहोला ।’

 

उनले चुनाबमा उम्मेदवार बनेका प्रतिस्पर्धीहरूको आलोचना गर्दै तिलोत्तमामा चुनाव जित्ने सपना नदेख्न आग्रह गरेका थिए । 

 

प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले पनि आचारसंहिताविपरीत जिम्मेवारी लिएका छन् । उनले नगरको जनप्रतिनिधितर्फको प्रवक्ता वहाल रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिएका हुन् ।