close

मेयर र उपमेयरका स्वतन्त्र उम्मेदवारलाई 'मुढा’

मेयर र उपमेयरका स्वतन्त्र उम्मेदवारलाई 'मुढा’

Trulli
ADVERTISEMENT

बागलुङ ।  गलकोट नगरपालिकामा सत्तारुढ गठबन्धनबाट नगरप्रमुख (मेयर) र नगरउपप्रमुख (उपमेयर) पदमा स्वतन्त्र उम्मेदवार दर्ता गराएका दुवैले चुनावचिन्ह मुढा पाएका छन् ।

 

गलकोट नगर प्रमुख पदमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ मञ्जु शर्मा चालिसे र नगरउपप्रमुख पदमा उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका नेता तिलक उप्रेतीले चुनाव चिन्ह मुढा पाएका हुन् । 

 

गलकोटमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता भरत शर्मा गैरे प्रमुख र नेकपा माओवादी केन्द्रका नेता फमलाल न्युरे उपप्रमुखका उम्मेदवार छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्मरबहादुर केसीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।

 

गलकोट नगरप्रमुखमै स्वतन्त्र उम्मेदवार रहेका दीपेन्द्र साहानीले गुलावको फूल चिन्ह पाएको निर्वाचन अधिकृत नेत्रप्रसाद भुसालले बताए । जिल्लाका १० वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उमेद्वारलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

 

आगामी वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचन हुँदै छ । चुनाव नजिकिँदै गर्दा दलहरूले चुनावी सरगर्मी बढाएका छन् । चुनावी मैदानमा सत्तारुढ गठबन्धन, नेकपा एमालेलगायत दल प्रतिस्पर्धामा उत्रिएका छन् । 


गठबन्धनमा पार्टीले आफूखुसी टिकट बाँडेको भन्दै देशका विभिन्न पालिकामा बागी उम्मेदवारले समेत स्वतन्त्रमा मनोनयन दर्ता गरेका छन् । केही उम्मेदवारले मनोनयन फिर्ता गर्ने समयतालिकाअनुरुप उम्मेदवारी फिर्ता गरेका छन् ।