close

गठबन्धनले जुटाइदिएको अनौठो संयोग

गठबन्धनले जुटाइदिएको अनौठो संयोग

Trulli
ADVERTISEMENT

कञ्चनपुर । सत्तारुढ पाँच दलीय गठबन्धनका कारण अहिले नेताहरूको परिचय मात्र नभएर राजनीतिक आस्था समेत बदलिएको जस्तो देखिन थालेको छ । 

 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफू समर्थित उम्मेदवारलाई जिताउन सबैजसो दल घरदैलो कार्यक्रममा व्यस्त छन् । नेताहरूले बोकेका चुनाव चिन्ह अङ्कित झन्डा देख्दा कतिपय स्थानमा मतदाता नै झुक्किने गरेका छन् । 

 

अचम्म कै संयोग मान्नु पर्छ, जनताले नेपाली काँग्रेसका नेताका रूपमा चिनेका कतिपयको हातमा कहिले हँसिया हथौडा अङ्कित झन्डा देख्छन् त कहिले कलम । यस्तै माओवादी नेताका हातमा कहिले रुख त कहिले कलम अङ्कित झन्डा देखिन्छ ।

 

हिजोका दिन एकले अर्कालाई देखि नसक्ने नेताहरू स्थानीय तहको चुनावका लागि एक अर्कालाई मत माग्दै काँधमा काँध मिलाएर हिँडेको अनौठो दृश्य पनि सहर बजारमा देख्न पाइन्छ ।

 

यस्तै दृश्य देखियो, कञ्चनपुरमा पनि । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बीना मगर पुनर्वास नगरपालिकामा मत माग्न नेकपा एकीकृत समाजवादीको कलम चिन्ह अङ्कित झन्डा बोकेर घरदैलो कार्यक्रममा खटिएको दृश्यलाई मतदाताहरू रमाएर हेर्दै थिए ।

 

पूर्व मन्त्री समेत रहेकी माओवादी नेतृ मगरले अहिले पुनर्वास नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट मेयर र उपमेयरमा उम्मेदवारी दिएका जीवन थापा र धोके रानाका लागि भोट माग्दै घरदैलो कार्यक्रममा खटिएकी हुन् । 

 

पुनर्वास नगरपालिका नेतृ मगरको चुनावी क्षेत्र समेत हो ।